सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीमावर्ती क्षेत्रमा भारतको तारन्तार ज्यादती, जवाफसमेत पाउँदैन स्थानीय प्रशासन

२०७८ साउन १६, ०७:१३ रोशन भट्ट

धनगढीः लिपुलेक, कालापानी र लिम्पियाधुरासम्मको नेपाली भूभाग वर्षौंदेखि अतिक्रमण गरेको भारतले दार्चुलास्थित महाकाली नदी क्षेत्रमा बारम्बार हेपाहा प्रवृत्ति दोहोर्‍याउन थालेको छ।

महाकालीको प्राकृतिक बहावलाई असर पार्ने र नदीको धार नेपालतर्फ धकेल्ने खालका गतिविधि भारतीय पक्षबाट जारी रहेकोमा सीमावर्ती क्षेत्रका स्थानीयमाथि ज्यादती पनि बढेको छ। 

शुक्रबार मात्रै दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ का ३५ वर्षीय जयसिंह धामी जिल्ला सदरमुकाम जाँदा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भए। नेपाली भूमि भएर सदरमुकाम आउनसक्ने बाटो नभएका कारण उनी भारतीय भूमि भएर सदरमुकाम आउने योजनामा थिए। भारतीय सुरक्षा बल एसएसबीले तुइन खोलेपछि धामी नदीमा बेपत्ता भएको प्रत्यक्षदर्शी तथा दुई दशकदेखि महाकालीमा तुइन तार्ने काम गर्दै आएका कल्याणसिंह धामीले बताए। ‘जयसिंहले नदी तरिसक्ने बेला तुइनको तार तल खस्यो,’ उनले भने, ‘तुइनको तारलाई नदीले भेट्टाएपछि उनी बेपत्ता भएका हुन्।’ 

तर धामी बेपत्ताको घटनामा एसएसबीको हात नहुनसक्ने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताएका छन्। ‘एउटा मानवले अर्को मानवलाई मारेन जस्तो लाग्छ मलाई’ उनले भने, ‘अहिले छानविन गर्न समिति गठन भएको छ। समितिले के रिपोर्ट ल्याउछ त्यसपछि अगाडिको प्रक्रिया सुरु हुन्छ।’ उक्त घटनाको छानविन गर्न गृहमन्त्रालयले पनि समिति गठन गरेको थियो।

उता जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रहरी एसएसबीलाई तुइन तर्ने बेला जयसिंह धामी बेपत्ता भएको घटनाको वास्तविकताबारे सोध्दा पनि जवाफ नआएको बताएको छ। 

सीमावर्ती क्षेत्रका स्थानीयमाथि भारतीय सुरक्षाकर्मीले गर्ने यस्तो ज्यादती नौलो भने भने होइन। विभिन्न बहानामा सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीले नेपाली नागरिकलाई दुःख दिने गरेको छ। विषेशगरी दार्चुलाको महाकाली नजिकका स्थानीयहरु भारतीय सुरक्षाकर्मीको ज्यादती सहन बाध्य छन्। दैनिक उपभोग्य वस्तु खरिददेखि जिल्ला सदरमुकाम पुग्नको लागि पनि भारतीय भूमि प्रयोग गर्नुपर्ने भएका कारण उनीहरु बढी समस्या भोग्न बाध्य छन्। 

भारतले सीमा क्षेत्रमा नेपाली भूमि अतिक्रमण गर्दै आफ्ना भौतिक संरचनाहरु समेत निर्माण गरिरहेको छ। नेपाली पक्षले पटकपटक पत्र पठाउँदा पनि जवाफ दिन भारतले अटेरी गरिरहेको छ। नेपालको गृह मन्त्रालय तथा परराष्ट्र मन्त्रालयले समेत यस विषयमा भारतसँग आवश्यक छलफलसमेत गर्न सकेको छैन। जसकाकारण सीमा क्षेत्रका नागरिकले सधै सास्ती भोग्नुपरेको छ।  

 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस