‘विश्वासको मत दिने-नदिने भन्दा पनि पार्टी एकता कसरी कायम गर्ने भन्नेमा केन्द्रित छौ’
धनगढीः नेकपा एमालेको आज स्थायी कमिटी बैठक बस्यो। हिजो (बिहीबार)नै बैठकका लागि माधवकुमार नेपाल पक्षसमेतलाई जानकारी गराएको थियो। तर, माधव पक्ष आज बसेको बैठकमा सहभागी नै भएन।
बैठक सुरु हुनैलाग्दा नेपाल समूहका नेताहरु पनि बैठक स्थलमा पुगे। नेताहरुले बैठक स्थगित गरेर सहमति खोज्न आग्रह गरे तर त्यो आग्रहलाई ओलीले अस्विकार गरे।
बैठकले नेकपा एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ। अध्यक्ष ओली पक्षका नेताहरुको मात्र उपस्थिति रहेको बैठकले पार्टी मिलाउन गठन गरेको कार्यदलसमेत भंग गरेको छ।
यसै विषयमा दिनेशखबरकर्मी रोशन भट्टले नेकपा एमालेका उपाध्यक्ष भीम रावलसँग कुराकानी गरेका छ्न।
पार्टी मिलाउन गठन गरिएको एमालेको कार्यदल भंग भयो अब पार्टी एकता हुने सम्भावना कति छ ?
पहिलो कुरा त कार्यदलमा जसरी सहमति भएको थियो। तदनुकुल नै सहमति गरेर अगाडि मिलेर जाउँ भनेर हामीले स्थायी कमिटी बैठकमा भाग नलिएपनि हामी बैठक रोक्न र उच्च स्तरमा सहमति गर्न आग्रह गरेका थियौ। साथसाथै हामीले कार्यदलको १० बुदे सहमतिलाई कार्यन्वयन गर्नमा जोड दिएका थियौ। यसको लागि हामीले स्थायी कमिटीका अन्य साथीहरुसँग पनि कुराकानी जारी राखेका छौ। तर, यसको प्रमुख जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओली र हाम्रो पक्षबाट नेतृत्व गरिरहनुभएका माधव कुमार नेपालको काँधमा छ। उहाँहरुलाई हामीले अबको राजनैतिक संकटबाट देशलाई जोगाउनको लागि पार्टी भित्रको एकता र समझदारी महत्वपुर्ण छ भनेर भनेका छौ। हाम्रो प्रयत्न जारी रहेको छ। अब परिणाम के हुन्छ त्यो त हेर्न बाकी नै छ।
एमाले स्थायी कमिटी बैठकले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ, अब माधव समूहले के गर्छ ?
विश्वासको मत दिने नदिने कुरा छ हामीले यस सम्बन्धमा अहिले नै छलफल गरेका छैनौ। सबभन्दा पहिले त हामीले जुन कार्यदलमा १० बुदे समझदारी गरेका छौ त्यसलाई कसरी कार्यन्वयन गर्ने, कसरी पार्टी एकता कायम गर्ने कुरामा नै जोड दिएका छौ। यो पार्टी एकता र सहमति कायममा हामी सफल भयौ भने त्यसपछि हामी संसद्मा कसरी प्रस्तुत हुने र संस्थागत निर्णय के गर्ने भन्ने बिषयमा सहज हुन्छ जस्तो लाग्छ। तर, अहिले नै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने–नदिने भन्ने विषयमा कुनै छलफल भएको छैन।
स्थायी कमिटीले आज सरकारको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ, यसबारे के भन्नुहुन्छ ?
यति महत्वपूर्ण विषयमा अहिले छलफल नै नभई मैले केही प्रतिक्रिया दिन मिल्दैन। तर, जुन आज बसेको बैठकले गरेको निर्णय र निर्देशनको कुरा गर्नु भयो त्यसमा हामी सहभागी थिएनौ। पार्टीभित्र छलफल भएको छैन। कुनैपनि निर्णय पार्टीको छलफलबाटै गर्नुपर्छ भन्ने हाम्रो पार्टीको विधान र कार्यदिशा हो। त्यसैले हामी अहिले विश्वासको मत दिने नदिने भन्दा पनि पार्टी एकता कसरी कायम गर्ने भन्नेमा केन्द्रित छौ।
संयुक्त सहमतिको सरकारबारे पनि चर्चा भईरहेको छ। अब माधव समूह सरकारमा सहभागी हुन्छ ?
सरकारमा सहभागी हुने नहुने कुरा हाम्रा लागि महत्वपूर्ण कुरा होईन्, हामी अहिले केवल पार्टी एकता चाहान्छौ। सरकारमा जाने नजाने भन्ने बिषयमा कुनै छलफल भएको छैन। छलफल र पार्टीको निर्णय के हुन्छ, तदनकुल हामी अगाडी बढ्छौ।