सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मिलोमतोमा ठेक्का भएका कालोपत्रे सडक वर्षौदेखि अलपत्र

२०७८ असार २९, ०५:४७ रोशन भट्ट

धनगढी: कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ मा पर्ने ५ सय ८१ मिटर लम्बाइको सडक कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भएको दुई वर्ष भयो। नगरपालिकाको २५ लाखभन्दा बढी बजेटमा निर्माण गर्ने गरी २०७६ को फागुनमा सडकको ठेक्का सम्झौता भएको थियो। 

२०७७ को असारसम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएपनि हालसम्म उक्त सडकमा ग्रावेल मात्रै हालिएको छ। स्थानीय जनप्रतिनिधिले आर्थिक अनियमितता गर्नका लागि मिलेमतोमा ठेक्का सम्झौता गरेका कारण कालोपत्रेको काम अलपत्र परेको स्थानीय नन्दराज पोखरेलले आरोप लगाएका छन्। ‘शंकर(निर्माण कम्पनीका सञ्चालक)का ले ठेक्का लिएका हुन भन्ने सुनेका छौं, ग्रावेल मात्रै हालेका छन्,’ उनले भने, ‘नगरपालिका र निर्माण कम्पनीको मिलेमतोका कारण काम नभएको हो की ?’ 

नगरपालिकाकै वडा नम्बर ७ मा पनि साढे २५ लाखभन्दा बढी बजेट खर्च गरेर ५ सय ९३ मिटर सडक कालोपत्रे गर्ने योजना थियो। २०७६ फागनमै सम्झौता भएको उक्त सडकको काम पनि हालसम्म आधा समेत हुन सकेको छैन। 
यस्तै वडा नम्बर १० मा समेत ५ सय ५६ मिटर लम्बाईको सडक कालोपत्रे गर्नका लागि साढे २५ लाखभन्दा बढी बजेटमा सम्झौता भएको थियो। नगरपालिका भित्रका यी तीनवटा सडक दुई वर्षदेखि अलपत्र परेपनि सरोकारवाला निकायको ध्यान त्यसतर्फ जान सकेको छैन। 

नगरपालिकाले उक्त सडकहरुमा वेस र सव–वेसको काम भएको दावी गरेपनि हालसम्म ग्रावेल मात्रै हालिएको छ। निर्माण कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि काम सुरु नभएको गौरीगंगा नगरपालिकाका इन्जिनियर दिनेश खड्काले बताए। ‘सँगै ठेक्का सम्झौता भएका सडकहरुको काम सम्पन्न भइसक्यो,’ उनले भने, ‘यी तीन सडकको जिम्मा लिने निर्माण कम्पनी भने ढिलाई गरिरहेका छन्।’

कालोपत्रे गर्नुपर्ने तीन वटा सडकको ठेक्का सम्झौता बीबीएस निर्माण कम्पनीसँग भएको थियो। कालोपत्रे सडकको निर्माण अवधि गत वर्षको असारमा सकिएको थियो। निर्माण कम्पनीको आग्रहमा नगरपालिकाले उक्त अवधि एक वर्षका लागि थप गरेको थियो। तर थपेको म्याद समेत सकिएपनि कालोपत्रेको काम सुरु हुन सकेको छैन। 

निर्माण कम्पनीले भने अब आउने असोजसम्म कालोपत्रेको काम सम्पन्न गर्ने दावी गरेको छ। ‘गत वर्ष र यस वर्ष कोरोनाका कारण काम गर्न सकिएन’ निर्माण व्यवसायी शंकर आचार्यले भने, ‘अब असोजसम्म कालोपत्रेको काम सम्पन्न हुन्छ।’

जनप्रतिनिधि तथा निर्माण कम्पनीको वेवास्ताका कारण उक्त क्षेत्रका स्थानीयको कालोपत्रे सडकमा आवातजावत गर्ने सपना पूरा हुन सकेको छैन। निर्माण कम्पनी र जनप्रतिनिधिको आर्थिक चलखेलको मारमा आफूहरु परेको गौरीगंगाका स्थानीयले दुखेसो गरेका छन्।  

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस