सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवा गाउँ पुगेपछि खनिए डोटीका बाँझो खेत

२०७८ असार १८, ०७:४७ रासस

विमलबहादुर विष्ट, डोटी: विगतदेखि बाँझो रहेका जमिनमा पनि यस वर्ष धानलगायतका खेती गरिएको छ। 

अन्य वर्षको तुलनामा यो वर्ष जिल्लामा धान रोपाइँ बढी भएको छ। डोटीमा यो वर्ष समयमै मनसुन सुरु भएका कारण ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कोरोना महामारीका कारण सहरबाट घर आएका युवा गाउँमै रहेका कारण बाँझो जमिनमा रोपाइँ गरिएको छ। 

धान रोपाइँ तथा मकैलगायतका खेती गरिएपछि यहाँका खेत तथा डाँडाकाडाँ हरियाली देखिन थालेका छन्। सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल, राजपुरका अनुसार जिल्लामा कुल दश हजार ७१५ हेक्टर क्षेत्रफलमा धान खेती गरिदै आएकोमा हालसम्म कुल चार हजार ५०० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। 

यहाँका उच्च पहाडी र पहाडी क्षेत्रमा धान रोपाइँ छिट्टै भएको निर्देशनालयले जनाएको छ । यहाँका ग्रामीण क्षेत्रका करीब धान रोपाइँ सकिएको छ भने पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्ला, घोलतडा लगायतका क्षेत्रमा रोपाइँ चलिरहेको छ।

प्रदेशका अन्य आठ जिल्लाहरु कैलालीमा ५५, कञ्चनपुरमा ३५, अछाममा ४५ बाजुरामा ५५, बझाङमा ४५, बैतडीमा ४५, दार्चुलामा ६२, डडेल्धुरामा ६० प्रतिसत धान रोपाइँ सम्पन्न भएको छ। प्रदेशभरीका कुल एक लाख ८५ हजार ८४७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिदै आएको छ। 

यो प्रदेशमा हालसम्म ५८ हजार ३६८ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको बताइएको छ। सुदूरपश्चिम प्रदेशको धान उत्पादन हुने क्षेत्रफलको ४५.९५ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भइसकेको निर्देशनालयको तत्थ्याङकमा उल्लेख छ। यो वर्ष असार १५ अघि नै प्रदेशभरीमा ४५.९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको निर्देशनालय दिपायल राजपुरका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए। 

उनले यो वर्ष राम्रो धान उत्पादन हुने लक्ष्य लिइएको बताए। यही असार १० गतेसम्म भएको रोपाइँको तुलनामा सुदूरपश्चिम प्रदेशमा यो वर्ष ८.४१ प्रतिशतले बढी भएको बताइएको छ। नेपालमा दुइ जिल्लामा बाहेक अन्य सबै जिल्लामा धान उत्पादन हुने गरेको छ। 

नेपालमा कुल १३० जातका धान उत्पादन हुँदै आएको निर्देशनालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा नौवटै जिल्लाका किसानले प्राय गरी मार्सि, थापाचिनी, गुर्रा, ठेसे, हंसराज र पालपाली धान लगाउदै आएका छन्। यहाँको प्रसिद्ध धान जोरायले बासमती डोटीको जोरायल क्षेत्रमा मात्रै लगाउने र उत्पादन हुने गरेको छ। 

यहाँका विभिन्न जिल्लामा अझैपनि धान रोपाइँ सुरु भइरहेकाले धान रोपाइँ प्रतिशत अझै बढ्ने निर्देशनालयको दाबी छ। जिल्लामा विशेषगरी असारको पहिलो सातादेखि साउनको अन्तिम सातासम्म रोपाइँ हुन्छ। रोपाइँको चहल पहलले गर्दा यहाँका गाउँघर निकै रमाइला भएका छन्। 

जिल्लाका फाँट क्षेत्रका खेतमा रोपाइँको चहलपहल निकै बढेको बडिकेदार गाउँपालिका–१ का किसान दानबहादुर कललेले बताए।

कमेन्ट लोड गर्नुस