सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषकलाई ट्र्याक्टर हस्तान्तरण

फाइल फोटो
फाइल फोटो
२०७८ असार १५, १०:२८ रासस

भरतपुरः भरतपुर महानगरपालिकाले कृषकहरुलाई अनुदानमा ट्र्याक्टर वितरण गरेको छ। महानगरले कृषिको क्षेत्रमा आधुनिकीकरण र यान्त्रिकीकरणमा सहयोग पु¥याउन ५० प्रतिशत अनुदानमा ट्र्याक्टर उपलब्ध गराएको हो। 

महानगरले  सोमबार  छ वटा ट्र्याक्टर र एउटा हाते ट्र्याक्टर किसानलाई वितरण गरेको छ। महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले एक कार्यक्रमका बीच किसानहरुलाई सामग्री हस्तान्तरण गरेका हुन्। 

महानगरमा परेका ४३ वटा आवेदनबाट छनोट गरेर १३ वटा फार्मलाई मागअनुसारको उपकरणमा सहयोग गरिएको हो। महानगर प्रमुख दाहालले महानगरपालिले कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताए। 

कृषि क्षेत्रको विकासका लागि यान्त्रिकीकरण र आधुनिकीकरणमा आफूहरुले जोड दिएको उल्लेख गर्दै दाहालले कृषिमा लागत घटाएर उत्पादन बढाउन निरन्तर खटिएको बताए। 

महानगरमा पशुपालनमा पनि उच्च सम्भावना रहेकाले यो क्षेत्रमा लाग्ने किसानलाई हौसला प्रदान गर्न दूधमा प्रतिलिटर रु तीन अनुदान दिन थालिएको दाहालको भनाइ थियो। 

कार्यक्रममा महानगर उपप्रमुख ठकुरीले किसानलाई कृषि पेशाबाटै सबल बनाउने उद्देश्यसहित कृषि उपकरण वितरण गरिएको बताए। कृषि प्रधान देशमा किसानहरु निराश बनेको र युवा पलायन हुने स्थिति आएकाले अब युवालाई यही कृषि कर्ममा सरिक बनाउन आफूहरु लागेको उनको भनाइ थियो। 

प्रति ट्र्याक्टर रु १६ लाख ५२ हजार लागत मूल्य रहेको र महानगले रु आठ लाख अनुदान सहयोग गरेको महानगरको कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले बताए। 
 

कमेन्ट लोड गर्नुस