सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आर्थिक वर्ष सकिनै लाग्दा प्रदेश सरकारले गर्‍यो सडक निर्माणका सम्झौता

बजेट सदुपयोग हुनेमा आशंका

२०७८ असार ३, ०५:४७ सरेन जैरू

धनगढीः धनगढी उप–महानगरपालिका भित्र सडक निर्माणमा असारे विकासको प्रवृत्ति पुनः दोहोरिएको छ। 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कैलालीअन्तर्गत धनगढी उप–महानगरपालिका भित्र बन्ने सडक निर्माणका लागि आर्थिक वर्ष सकिनै लाग्दा धमाधम सम्झौता भएका छन्। 

सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा धनगढीमा विभिन्न सडक निर्माण भइरहेका छन्। तीमध्ये केही सडकको निर्माण कार्य सम्पन्न भएको छ भने, केही सडकको काम जारी रहेको छ। 

त्यस्तै केही सडक निर्माणको लागि चालु आर्थिक वर्ष सकिनै लाग्दा अर्थात् जेठमा सम्झौता भएको छ। जेठमा आएर सम्झौता गरिँदा बजेट सदुपयोग हुनेमा आशंका गरिएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत गठित प्रदेश विकास कार्यालय कैलालीले उप–महानगरपालिका भित्र बन्ने सडक निर्माणका लागि आर्थिक वर्ष सकिनै लाग्दा धमाधम सम्झौता गरेको पाइएको हो। 

उप–महानगरपालिका भित्रका कतिपय सडकहरूको आसाय मात्र गरिएको छ। सुदूरपश्चिममा असारे विकासको प्रवृत्ति पहिले देखि चलिआएको र त्यही प्रवृत्ति अहिले पनि दोहोरिएको नागरिक अगुवाहरूले बताएका छन्। 

धनगढी उप–महानगरपालिकाका नागरिक अगुवा प्रमोद पाठकले असारे विकासको प्रवृत्ति पहिले देखि चलिआएको र त्यही प्रवृत्ति अहिले पनि दोहोरिएको बताए। 

’१० महिनासम्म कानमा तेल हालेर सुत्ने र अन्त्यमा आएर काम गरे जस्तो गरि तात्ने गरिएको छ।’ उनले भने, ’यसको एक मात्र उद्येश्य भ्रष्टाचार गर्नु हो।’

 
प्रदेश सरकारको बजेटमा धनगढी उप-महानगरपालिका वडा नम्बर १, २, ४ र १३ मा सडक निर्माणका लागि बल्ल सम्झौता भएको छ। अन्य वडाहरूमा समेत यही दुरदशा छ। 

चालु आर्थिक वर्षको जेठमा सम्झौता भएका यी सडकहरूको निर्माणका काम आगामी आर्थिक वर्ष २०७८/२०७९ को मंसिरमा सक्नुपर्ने छ। तर असारदेखि असोजसम्म नदिजन्य वस्तुहरूको निकासीमा पूर्णतया रोक लगाइने भएकाले बजेटको हिनामिना हुने देखिएको छ। 

पूर्वाधार विकास कार्यालय कैलालीले भने छनौट गरिएका सडकहरूको मोडालिटीबारे अन्यौलता हुँदा आर्थिक वर्षको अन्त्य तिर आएर सम्झौता गर्नु परेको दाबी गरेको छ। 

पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख श्यामबहादुर खड्काले केही योजना सम्पन्न भएको, केही कार्यान्यवनमा रहेको र केही योजनाको अहिले सम्झौता गरिएको बताए। 

’पहिला सानो लम्बाईका सडकहरूलाई बढाएर ठूलो लम्बाईमा बनाउन प्रस्ताव गरिएको थियो।’ उनले भने, ’पछि मेसो नमिलेपछि पुनः सानै लम्बाईमा सडकको सम्झौता गरिँदा ढिला गरि सम्झौता भएको हो।’   

धनगढीमा सडक निर्माणका लागि आर्थिक वर्षको अन्त्यमा सम्झौता हुने र काम नहुने परम्परा चल्दै आएका छ। सडक निर्माण नहुँदा स्थानीयहरूलाई आवातावतमा समस्या हुने गरेको छ।

असारे विकास भ्रष्टाचारको लागि गरिने भएपनि यस्ता खालका विकास कामै नलाग्ने हुने सर्वसाधारणहरूको गुनासो छ। 

असार महिनामा निर्माण गरिएको सडक वर्षातले छिट्टै भत्किने भएकाले जनताले तिरेको करको चरम दुरूपयोग हुने धनगढीका स्थानीयहरू गुनासो छ।
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस