सुदूरपश्चिममा भारतबाट आउने भन्दा जानेको संख्या बढ्यो, एक महिनामा १७ हजार पलायन
धनगढीः सुदूरपश्चिम प्रदेशका सीमानाकाबाट भारत जाने नेपालीहरूको संख्या बढ्दै गएको छ।
भारतमा कोरोना भाइरसको संक्रमण केही नियन्त्रणमा आएर जनजीवन सामान्य हुँदै व्यापार व्यवसाय पनि खुल्न थालेसँगै प्रदेशबाट रोजगारीका लागि भारत पलायन हुने नेपालीको संख्या बढेको हो।
जेठ महिनामा कञ्चनपुरको गौरीफन्टा नाकाबाट १३ हजार ११८, गड्डाचौकीबाट ३ हजार ७६३ र बैतडीको जुलाघाट नाकाबाट २६७ गरी १७ हजार १४८ जना नेपालीहरू भारत पलायन भएका छन्।
पछिल्लो दुइ साता यताको तथ्याङ्क अनुसार प्रदेशबाट भारत जाने नेपालीहरूको संख्या आउनेको तुलनामा बढेको देखिएको छ।
जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट ठूलो संख्यामा नेपालीहरू भारत जाने गरेका बताए।
पछिल्लो दुइ साताको तथ्याङ्क हेर्ने हो भने भारतबाट भित्रिने नेपालीहरूको तुलनामा नेपालबाट भारत जानेको संख्या बढेको छ। उनले भने, 'कञ्चनपुरको दक्षिणी सीमानाका गौरीफन्टाबाट ठूलो संख्यामा नेपालीहरू भित्रिरहेका छन्। भारत जानेको संख्या पनि उच्च छ।'
त्यस्तै एक महिनामा भारतबाट २२ हजारभन्दा बढी नेपालीहरू भित्रिएका छन्।
जेठ महिनामा कञ्चनपुरको गौरीफन्टा नाकाबाट १७ हजार ८७०, गड्डाचौकीबाट ३ हजार ७४७, बैतडीको जुलाघाट नाकाबाट ३९७ र दार्चुलाको पुलघाट नाकाबाट ३१७ गरी २२ हजार ३३१ जना नेपालीहरू भारतबाट भित्रिएका छन्।
गौरीफन्टा नाकामा राखिएको हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले गौरीफन्टा नाकाबाट जेठ महिनामा १७ हजार ८७० नेपाली भित्रिएपनि ती मध्ये ५ हजार २८४ अर्थात् ३० प्रतिशतको मात्र कोरोना परीक्षण हुन सकेको बताए।
नाकामा भारतबाट भित्रिने सबैको परीक्षण हुन नसक्दा र आइसोलेसनको व्यवस्था नहुँदा कोरोना गाउँगाउँ पुगेको छ भने, डेढ महिना लामो निषेधाज्ञा पछि पनि कोरोना नियन्त्रण हुन सकेको छैन।
त्यस्तै प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ल्याएको कोरोना लक्षित युवा स्वरोजगार कार्यक्रम प्रभावहीन हुँदा महामारीको जोखिमकै बीच नेपालीहरू भारत पलायन हुन बाध्य छन्।