सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका अस्पताल संक्रमितले भरिए, 'नन कोभिड' तथा डायलोसिस गराउनुपर्ने बिरामी मर्कामा

२०७८ जेठ ११, ०८:३० सरेन जैरू

धनगढीः सुदूरपश्चिमका निजी तथा सरकारी अस्पतालहरू कोरोना संक्रमितले भरिएपछि 'नन कोभिड' अर्थात् अन्य बिरामीलाई उपचार पाउनै समस्या हुन थालेको छ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरस विकराल रूपमा फैलिएपछि अहिले सुदूरपश्चिमका अस्पतालहरू कोरोनाका बिरामीले भरिएको छन्। अस्पतालहरूमा कोरोना संक्रमितहरूको चाप बढेसँगै 'नन कोभिड' अर्थात् अन्य बिरामीहरूलाई उपचार पाउनै समस्या भएको हो।

अहिले अस्पतालका ओपीडी सेवाहरू बन्द गरिएका छन्। तर प्रसुति सेवा र बालरोग सेवा भने निरन्तर रूपमा जारी रहेको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले अहिले सेती प्रादेशिक अस्पतालको ओपीडी सेवा बन्द गरिएको बताए। कोरोना संक्रमितहरूले अस्पताल भरिएको अवस्थामा सामान्य बिरामीहरू उपचारका लागि अस्पताल आउन हिच्किचाउने गरेको उनको भनाइ छ। 

'अस्पतालको ओपीडी सेवा बन्द छ।' उनले भने, 'बिरामीहरू पनि उपचारका लागि अस्पताल आउन हिच्किचाउने गरेका छन्। जसका कारण अस्पतालमा ुनन कोभिडु बिरामीहरूको चाप विगतको तुलनामा घटेको पाइएको छ। तर सिकिस्त बिरामीहरूको भने अस्पतालको आकस्मिक वार्डमा उपचार भइरहेको छ।'

कञ्चनपुरको महाकाली अस्पतालमा पनि हाल ओपीडी सेवा बन्द छ। तर त्यहाँ आकस्मिक सेवासँगै फिवर क्लिनिक, खोप सेवा र प्रसुति सेवा भने नियमित रूपमा सुचारू रहेको छ। कोरोनाको लक्षण भएका बिरामीहरूलाई सुरूमा अस्पतालको आकस्मिक वार्डमै राखेर उपचार गरिने गरिएको छ। पीसीआर परीक्षणमा कोरोना पुस्टि भएपछि मात्र उनीहरूलाई आइसोलेशनमा राखिने गरिएको महाकाली अस्पतालका सूचना अधिकारी नारद प्रसाद भट्टले बताए।

सेती प्रादेशिक अस्पतालको विरङ्ग हेल्थ केयरमा डोयलोसिसका ७ वटा मसिनहरू छन्। त्यहाँ तीन सिफ्टमा गरी दैनिक २१ जना बिरामीको डायलोसिस हुँदै थियो। तर अहिले जारी निषेधाज्ञाले यातायातका साधनहरू बन्द भएर बिरामीहरू अस्पताल पुग्न नसक्दा मिर्गौलाका बिरामीहरूले अनिवार्य रूपमा गर्नुपर्ने डायलोसिस सेवा प्रभावित भएको छ। 

विरङ्ग हेल्थ केयरका व्यवस्थापक दिपक भट्टले हाल अस्पतालमा दैनिक १५/१६ जनाको मात्र डायलोसिस हुने गरेको बताए।

'कोरोना महामारीले हाम्रो डायलोसिस सेवा प्रभावित भएको छ।' उनले भने, 'निषेधाज्ञाले यातायातका साधनहरू बन्द हुँदा टाढाबाट आउने बिरामीहरू अस्पताल पुग्न सकिरहेका छैनन्। जसले गर्दा नियमित रूपमा डोयलोसिस गर्नुपर्ने मिर्गौलाका रोगीहरू निकै मारमा परेका छन्।'

कोरोना तीव्र रूपमा फैलिएका बेला अस्पतालहरू कोरोना संक्रमितकै उपचारमा खटिँदा निमोनिया, दम क्यान्सर, मधुमेह, उच्च रक्तचाप र मिर्गौलालगायतका अन्य बिरामीरू उपचार सेवाबाट बञ्चित हुनु परेको हो। 

अहिले कोरोना संक्रमितसँगै अन्य बिरामीहरूको समेत एउटै अस्पतालमा उपचार हुँदै कोरोना संक्रमण समेत बढिरहेको अधिकारीहरूले बताएका छन्। 

कोरोनाका बिरामीहरूलाई छुट्टै र अन्य बिरामीहरूलाई छुट्टै अस्पतालमा सेवा दिन सके उपचारमा सहज हुने र कोरोना संक्रमणको दरमा समेत नियन्त्रण गर्न सकिने अधिकारीहरूको सुझाव छ। 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस