सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका नाकाहरूमा एन्टिजेन किट अभाव, परीक्षण नहुँदा गाउँगाउँ पुग्दै संक्रमित

२०७८ वैशाख ३०, ०३:४७ सरेन जैरू

धनगढीः प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले १० दिनअघि एक साताभित्र २० हजार किटको व्यवस्थाप हुने बताएको थियो। तर अझै सुदूरपश्चिम प्रदेशका नाकाहरू एन्टिजेन किटको सहज आर्पूति हुन सकेको छैन।

नाकाहरूमा एन्टिजेन किटको अभाव भइरहँदा भारतबाट फर्किएका नेपालहरू मध्ये निकै थोरै संख्यामा मात्रा कोरोनाको परीक्षण हुने गरेको छ। सुदूरपश्चिम प्रदेशका सीमानाकाहरूमा भारतबाट फर्किने नेपालीहरूको संख्या झनझन बढीरहेपनि परीक्षणको दायरा भने झनझन कम हुँदै गएको हो। 

कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट नाका गरी दैनिक १५ सयको संख्यामा नेपालीहरू भित्रिरहेका छन्।  तीमध्ये गौरीफन्टा नाका भएर मात्र दैनिक १२ सय जना भित्रिरहेका छन्। तर औषत २ सयभन्दा पनि कमको संख्यामा मात्र परीक्षण हुने गरेको छ। 

गौरीफन्टा नाकामा राखिएको हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले परीक्षणका लागि किटको अभाव भएपछि लक्षण देखिएकाहरूको मात्र परीक्षण हुने गरेको बताए। ‘गौरीफन्टा नाका भएर दिनहुँ करिब १२ सय जना भित्रिरहेका छन्, किटको चरम अभाव छ’ उनले भने, ‘हामीले दिनमा २ सय किट मात्र पाउने गरेका छौँ। जसकारण लक्षण देखिएकाहरूको मात्र परीक्षण गर्नसक्ने अवस्था छ। दैनिक सय/डेढ सय जनाको मात्र परीक्षण गर्न भ्याएका छौँ।’

नाकामा परीक्षण गरिएकाहरू मध्ये कोरोना संक्रमित भेट्टिएकाहरूलाई धनगढीस्थित कनरीमा स्थापना गरिएको आइसोलेसनमा पठाउने गरिएको छ। तर परीक्षण नगरिएका र नेगेटिभ आएकाहरू सिधै गन्तव्यतर्फ लाग्ने गरेका छन्। यसरी भारतबाट कोरोना भाइरस सुदूरका गाउँगाउँ पुगेर स्थिति भयावह बन्ने चिन्ता बढेको छ। 

तर शत प्रतिशत परीक्षण गराउनतर्फ प्रदेशमा कुनै पनि पहल नभएको पाइएको छ।  प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले १० दिनअघि एक साता भित्र २० हजार किटको व्यवस्थाप हुने बताएको थियो। तर उक्त जोहो अझै हुन सकेको छैन। 

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख पदम विष्टले अहिले केन्द्रमा ५ सय किट मात्र मौज्दात रहेको बताए। नाकाहरूमा समेत २/३ सयको संख्यामा किट मौज्दात रहेको उनले बताए। ‘स्वास्थ्य सेवा विभागबाट १२ सय किट पाएका थियौँ। नाकाहरूमा बाँड्यौँ। अहिले हामीसँग ५ सय किट मात्र मौज्दात छ’ उनले भने, ‘अहिले किटको अभाव छ।’

२० हजार किटको लागि टेण्डर आह्वान गरिएपनि केही ढिलाई भएको उनले बताए। अहिले आपूर्तिकर्ताको टुङ्गो लागिसकेकाले जेठ पहिलो साता भित्र आपूर्ति हुने उनको भनाई छ।

पछिल्लो एक सातामा गौरीफन्टा नाका भएर भारतका विभिन्न राज्यबाट झण्डै १० हजार नेपाली भित्रिएका छन्। तीमध्ये झण्डै १ हजार जनाको मात्र परीक्षण हुने गरेको छ।

झण्डै २ सय जनामा कोरोना पुष्टि भएको छ। बाँकी बिना परीक्षण सोझै गाउँ पुगेका छन। उनीहरुसँगै कोरोना समेत गाउँगाउँ पुगेको छ।
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस