सुदूर नेपाललाई विश्वसँग जोड्दै

निषेधाज्ञापछि धनगढी–दिपायल द्रुत मार्गको ट्र्याक खोल्ने काम प्रभावित

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख २४, १०:४८ सरेन जैरू

धनगढीः कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाले धनगढी–दिपायल द्रुत मार्गअन्तर्गत ट्र्याक खोल्ने काम समेत प्रभावित बनेको छ। 

कोरोनाको त्रासले कामदारहरू काममा आउन छोडेपछि द्रुत मार्गअन्तर्गत कतै काम पूर्ण रूपमा ठप्प परेको छ भने, कतै कछुवा गतिमा चलिरहेको छ। 

अर्कोतर्फ द्रुत मार्गअन्तर्गत २३ किलोमिटर सडक कालोपत्रे गर्नको लागि निर्माण कम्पनीको छनौट गरिएपनि सम्झौता हुन सकेको छैन। आयोजना कार्यालयले कोरोना महामारीले निर्माणको काम नै प्रभावित भएको बताएको छ। 

धनगढी–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका प्रमुख खगेन्द्र शाहीले धनगढी–दिपायल द्रुत मार्गअन्तर्गत अहिले तीन प्याकेजमा काम चलिरहेको बताए। 

कैलालीको हाटखोलीदेखि ओझेनासम्मको २० दशमलव ५ किलोमिटर सडक निर्माणको ठेक्का पाएको आशिष निर्माण सेवाले झण्डै साढे १७ किलोमिटर मात्र ट्र्याक खोल्न सकेको छ। 

त्यस्तै श्याम सुन्दररसाउँद जेभीले ठेक्का पाएको डोटीको बीपीनगरदेखि काफतडीसम्मको ८ किलोमिटर सडक निर्माणको काम र सुर्य कन्स्ट्रक्शनको बीपीनगरदेखि दिपायलसम्म ट्र्याक खोल्ने काम पनि कछुवा गतिमा चलिरहेको आयोजना प्रमुख शाहीले बताए। 

वर्षौंदेखि अलपत्र रहेको धनगढी–दिपायल द्रुत मार्गको २३ किलोमिटर सडक कालोपत्रे गर्नका लागि गत माघमा टेण्डर आह्वान गरिएको थियो। कैलालीमा साढे १३ र डोटीमा साढे ९ किलोमिटर सडक कालोपत्रे गर्न टेण्डर आह्वान गरिएको थियो। 

सो सडक कालोपत्रेको लागि निर्माण कम्पनीको छनौट गरिएपनि सम्झौता हुन नसकेको उनले बताए। 

सुरूवातदेखि नै ढुलासुस्ती हुँदै आएको धनगढी–दिपायल द्रुत मार्ग निर्माण कार्यमा निषेधाज्ञाले झनै ढिलाई भइरहेको बताइएको छ। 

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले पूर्वाधार निर्माणमा अवरोध नगर्न निर्माण सामग्रीको ढुवानीमा प्रशासनले कुनै रोकटोक नलगाएको बताए। 

द्रुत मार्गअन्तर्गत कैलालीमा रूख कटानको काम जारी छ भने, डोटीमा रूख कटानको आदेश नै नपाएको आयोजना कार्यालयले बताएको छ। 

डीपीआर गरिएका बेला कैलालीको खुटीयादेखि दिपायलसम्मको ८४ किलोमिटर दूरीको सो द्रूतमार्ग धनगढीदेखि खुटीया हुँदै दिपायल गरिएपछि १ सय ५ किलोमिटर पुगेको छ। अहिले चालु रहेको धनगढी–डडेल्धुरा हुँदै दिपायलको दूरीभन्दा यो द्रूतमार्गको दूरी झण्डै आधाले छोटिने छ। 

जारी निषेधाज्ञामा सडकमा गाडीहरूको आवातजावतमा कमि हुने भएकाले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिनुपर्ने हो। तर कोभिडको त्रासले कामदारहरू काम गर्न नआएपछि झनै ढिलासुस्ती हुने गरेको छ।
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस