सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका बजारमा अखाद्य वस्तु बिक्री गर्ने कम्पनीहरूको नाम सार्वजनिक (सूचीसहित)

बजारमा म्याद नाघेका खाद्य वस्तु छ्यापछ्याप्ती

२०७८ वैशाख ८, ०३:३३ सरेन जैरू

धनगढीः सुदूरपश्चिम प्रदेशका बजारमा अखाद्य वस्तु बिक्री वितरण गर्ने कम्पनीहरूको नाम सार्वजनिक भएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले बजार अनुगमन गरी नमूना परीक्षण गर्दा ४ कम्पनीको उत्पादन दूषित र न्यून गुणस्तरीय पाइएको जनाएको छ। बजारमा अझैपनि म्याद गुज्रेका र लेबल विवरण अपूर्ण भएका वस्तुहरू छ्यापछ्याप्ती रहेको पाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म बजार अनुगमन गरी १ हजार ९३ नमूना परीक्षण गरेको छ। जसमध्ये २४ वटा कम्पनीले उत्पादन गरेका खाद्य पदार्थ दूषित पाइएको हो।

  • भारतको बरेलीमा रहेको बीएल एग्रो ओयल लिमिटेडले उत्पादन गरेको बैल कोल्हु नामक तेल न्यून गुणस्तरीय र एसिडको मात्रा उच्च रहेको पाइएको छ। कार्यालयले अनुगमनका क्रममा सो तेलको नमूना कञ्चनपुरको गंगा जनरल स्टोरबाट संकलन गरेको थियो।
  • धनगढीको अधिकारी वाटर एण्ड बेबरेज इन्डस्ट्रिजले उत्पादन गरेको अपि नामक प्रशोधित पानी न्यून गुणस्तरीय र पानीमा बाह्य ठोस पदार्थ भेट्टिएको छ। कार्यालयले सो प्रशोधित पानीको नमूना अत्तरियाको डडेल्धुरा रेस्टुरेन्ट एण्ड बारबाट संकलन गरेको थियो।
  • त्यस्तै अत्तरियाको संगम वाटर इन्डस्ट्रिजले उत्पादन गरेको स्प्रुजो नामक प्रशोधित पानी पनि न्यून गुणस्तरीय र पानीमा बाह्य ठोस पदार्थ भेट्टिएको छ। त्यसैगरी टीकापुरको आरसी वाटर एण्ड बेबरेज इन्डस्ट्रिजले उत्पादन गरेको अक्वा lzतल नामक प्रशोधित पानीको बोतलमा लेबल विवरण अपूर्ण रहेको कार्यालयले जनाएको छ।
  • धनगढीको राम ब्रदर्शले बेच्न राखेको बोट्लर्स नेपाल तराई लिमिटेलले उत्पादन गरेको कोकाकोला उपभोग्य मिति नाघेको पाइएको छ भने, धनगढीकै चेतन स्टोरले बेच्न राखेको गेटाको आरपी बेकरीले उत्पादन गरेको सितारा नामक रस्क (खस्ता) पनि उपभोग्य मिति नाघेको पाइएको छ।

बजारमा उपभोग्य मिति नाघेका चियापत्ति, आइसलिङ्ग अरेन्ज बेबरेज, पेप्सी बोतल, स्लाइस बोतल, चिसो पेय पदार्थ, बिस्कुट र खस्ता भेटिएका छन्। त्यस्तै लेबल विवरण अपूर्ण भएका र दूषित वस्तुहरूमा बेसार धुलो, मासको दाल, नमकिन, मसला, जेरी, मिठाई, किसमिस, बोडी र क्रिम बिस्कुट रहेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका सूचना अधिकारी उज्वल कोईरालाले दूषित तथा न्यून गुणस्तरको खाद्यान्न उत्पादन गरेका ५ कम्पनीविरूद्ध खाद्य ऐनअनुसार कारबाही गर्न जिल्ला प्रशासन कार्यालय कैलालीमा मुद्दा दायर गरिएको बताए। त्यस्तै अन्य कम्पनीहरूलाई बयानका लागि पत्राचार गरिएको उनको भनाई छ।

दूषित, न्यून गुणस्तरीय र मिसावटयुक्त खाद्य वस्तुको उपभोगले स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सर्वप्रथम उपभोक्ताहरू स्वयम् सचेत रहन जरूरी छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दfहालले न्यून गुणस्तरीय र दूषित पाइएका खाद्य वस्तुका कम्पनीले सुधार गरिसकेको अवस्था हुने र कतिपयले सुधार नगरेको अवस्थासमेत हुने गरेको बताए।

बजारमा बिक्री वितरण हुने खाद्य वस्तु दूषित र न्यून गुणस्तरीय पाइएपछि खाद्य वस्तुको लेबर विवरण, उत्पादन र उपभोग मिति हेरेर मात्र वस्तु खरिद गर्नुपर्ने सुझाब उनको छ। बजारमा तेल, पानी, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु दूषित र मिसावटयुक्त पाइने गरेको छ।

यस्तो अवस्थामा बजारमा बिक्रीका लागि राखिएका खाद्य वस्तु म्याद नाघेको वा खराब पाइए उपभोक्ताहरू समेत सचेत भएर उजुरी र गुनासो गर्न अधिकारीहरुले उपभोक्तालाई आग्रह गरेका छन्।

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस