सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा रहेका नेपालीहरूको रोजगारी खोसिन थालेपछि स्वदेश फर्किने क्रम बढ्दै

२०७८ वैशाख ४, ०४:०७ सरेन जैरू

धनगढीः भारतमा नेपालीहरूको रोजगारी खोसिन थालेपछि स्वदेश फर्किने क्रम बढ्दो छ।  

भारतका केही राज्यमा निषेधाज्ञा र केही राज्यमा लकडाउन जारी गरिएसँगै रोजगारीका लागि भारतका विभिन्न राज्य पुगेका नेपालीहरू अहिले सुदूरपश्चिम फर्किरहेका हुन्। पछिल्लो समय भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरू भएर दैनिक संक्रमणको दर पनि निरन्तर उकालो लागिरहेको छ भने, केही राज्यहरूमा निषेधाज्ञा, कर्फ्यू र केही राज्यहरूमा विकेण्ड लकडाउन अर्थात् बिदाको दिनमा (शनिबार र आईतबार) लकडाउन गरिएको छ। 

योसँगै भारतमा रोजगारी गर्ने नेपालीहरूको रोजगारी खोसिने क्रम बढेको छ। रोजगारी गुम्न थालेपछी नेपालीहरूको स्वदेश फर्किने क्रम पनि बढेको छ र त्यो क्रम अझै बढ्ने अनुमान गरिएको छ। अखिल भारत नेपाल एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले कोरोना संक्रमण असामान्य रूपमा बढ्न थालेपछि भारतको दिल्ली, महाराष्ट्र, उत्तर प्रदेश र चण्डिगढ राज्यमा निषेधाज्ञा जारी गरिएको र केही राज्यहरूमा बारअनुसार लकडाउनसमेत गरिएको बताए। 

कोरोना बढेर लकडाउन हुने स्थिति सृजना भएसँगै नेपालीहरूको रोजगारी गुम्न थालेको छ।ू उनले भने, ूबेरोजगार हुने चिन्ताले नेपालीहरूको स्वदेश फर्किने क्रम बढेको छ र त्यो क्रम अझै बढ्न सक्छ। भारतमा रोजगारी गुम्न थालेपछि नेपालीहरू ठूलो संख्यामा नेपाल भित्रिरहेका छन्।

गौरीफन्टा नाकामा राखिएको हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले धनगढी नजिक रहेको गौरीफन्टा नाकाबाट पछिल्लो एक महिनामा ३० हजारभन्दा बढि नेपालीहरू भित्रिएको बताए। गत महिनाको ३ गतेदेखि वैशाख ३ गतेसम्म ८ हजार ८ सय ५६ जनाको मात्र एन्टिजेन विधिबाट कोरोना जाँच गरिएको छ। उनले भने, त्यसमध्ये ६ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये १७ जना बालबालिका रहेको छन्। 

भारतमा कोरोना संक्रमण निकै बढेका बेला सीमानाकामा सबैको जाँच हुन नसक्नुले सुदूरपश्चिममा कोरोना बिकराल रूपमा फैलने चिन्ता बढेको छ। तर धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले कोरोना नियन्त्रणका लागि पूर्वतयारी भइरहेको बताएका छन्। गत वर्ष भारतमा लकडाउन भएका बेला हजारौँको संख्यामा नेपालीहरू भित्रिएका थिए। त्यही अवस्था अहिले आए प्रदेशमा तयारी शून्य जस्तै छ।

भारतमा कोरोना संक्रमितहरूको संख्या निरन्तर उकालो लागिरहेको छ। बिहीबार मात्र भारतमा २ लाख १७ हजार ३ सय ५३ जना संक्रमित थपिएका छन् भने, १ हजार १ सय ८५ जनाले ज्यान गुमाएका छन्। भारतमा बिहीबार बिहानसम्मको तथ्याङ्कअनुसार कोरोना संक्रमितको कूल संख्या १ करोड ४२ लाख ९१ हजार ९ सय १७ पुगेको छ।  

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस