सुदूर नेपाललाई विश्वसँग जोड्दै

सार्वजनिक यातायातमा प्रयोग हुँदैन मास्क, यात्रु भन्छन्, ‘कोरोना-सोरोना केही छैन, यो सब बकवास हो’

२०७७ चैत्र १६, ०४:३७ सरेन जैरू

धनगढीः सुदूरपश्चिम प्रदेशको कैलालीलगायतका जिल्लाहरूमा सार्वजनिक यातायातका सवारी साधनहरूमा पनि कोरोना रोकथाम तथा नियन्त्रणमा चरम लापरवाही भइरहेको छ।

अहिले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु, सवारी चालक र सहचालकहरू स्वंयमले समेत मास्कको प्रयोग गर्न समेत बेवास्ता गर्ने गरेको पाइएको हो। साथै सामाजिक दुरीको पर्वाहनै नगरी सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण कोरोना भाइरस तीव्र रूपमा फैलिने चिन्ता बढेको छ।

अहिले कैलालीको धनगढीलगायत विभिन्न ठाउँहरूबाट लामो तथा छोटो दूरीका सवारी साधन हुँइकिरहेका छन्। मानिसहरू आफ्नो गन्तव्यतर्फ लागिरहेका छन्। तर कोरोना रोकथाम तथा नियन्त्रणका लागि उनीहरूले कुनै प्रकारको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भने गरेका छैनन्। सवारी साधनमा बसेको अधिकांश यात्रुहरूले मास्कको समेत प्रयोग नगरेको पाइएको हो।

धनगढी बस पार्कमा काठमाण्डौँ जानका लागि बसमा बसेको एक जना यात्रुले मास्क लगाएका थिएनन्। उनलाई कोरोना संक्रमणको जोखिम बढेका बेला मास्कको प्रयोग किन गर्नुभएन भनेर सोध्दा, उनले भने, “कोरोना सोरोना केही छैन, यो सब बकवास हो।”

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायातका साधनमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने हो। साथै सामाजिक दूरी कायम गर्न एक सिट छोडेर यात्रु बसाल्नु पर्ने हो। तर, सवारी साधनमा व्यक्तिगत स्वार्थपुर्तीका लागि सिट क्षमताभन्दा बढी यात्रु राखेको पाइएको छ। 

यसरी सार्वजनिक सवारी साधनहरूमा मास्क र सेनिटाइजरको प्रयोग साथै सामाजिक दूरीलगायतका स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नगरिँदा सुदूरपश्चिममा कोरोनोको दोस्रो लहर सुरू हुने निश्चित छ।

सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले कोरोना संक्रमणको जोखिम उच्च रहेका बेला यात्रु र सवारी धनी, चालक र सहचालकले विशेष सावधानी अपनाउनुपर्ने बताए। “अझै पनि सवारी साधनमा स्वास्थ्य सुरक्षाको पालना नगरिएको पाइएको छ” उनले भने, “मैले सवारी साधनमा मास्क अनिवार्य गर्न र सामाजिक दूरी कामय गर्न निर्देशन दिएको छु। उहाँहरूले छिट्टै पालना गर्नुहुन्छ।”

उता स्थानीय प्रशासनले भने यातायातका साधनहरूमा कोरोना रोकथाम तथा नियन्त्रण निगरानी गर्न नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई निर्देशन दिएको बताएको छ।
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस