त्रिनगर नाकामा चरम लापरवाही, बिना एन्टिजेन जाँच धमाधम भित्रिदै
कोरोना पोजेटिभ आएकाहरू सार्वजनिक सवारीमार्फत गन्तव्यतर्फ
धनगढीः भारतबाट सुदूरपश्चिममा कोरोनाभाइरस भित्रिने जोखिम उच्च रहेका बेला धनगढी नजिक रहेको त्रिनगर नाकामा कोरोना रोकथाम तथा नियन्त्रणमा चरम लापरवाही भइरहेको पाइएको छ। त्रिनगर नाका भएर पछिल्लो चार दिनमा झण्डै २ हजारको संख्यामा नेपालीहरू नेपाल भित्रिएका छन्। तर तीमध्ये ५ सय जनाको मात्र एन्टिजेन परीक्षण गरिएको छ भने, अन्यको सामान्य ज्वरोसमेत ननापेको पाइएको छ।
सीमामा राखिएको हेल्थ डेस्कमा पर्याप्त जनशक्ति नहुँदा सबैको कोरोना परीक्षण हुन सकेको छैन। साथै नाकामा अटो, रिक्सा र नगर बस चालकहरूले गौरीफन्टा पुगेर यात्रुहरूलाई बिना जाँच गन्तव्यमा पुरÞ्याउन थालेपछि कोरोनाभाइरसको दोस्रो लहर गाउँ–गाउँसम्म पुग्ने देखिएको छ। त्यसैगरी एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएकाहरू पनि सार्वजनिक यातायातको प्रयोग गरी आफ्नो घर गइरहेको पाइएको छ।
तर सरोकारवाला निकाय भने सीमानाकामा सावधानी अपनाउदै संक्रमणलाई फैलिन नदिन अग्रसर भएका छैनन्।
नाकामा हुँदैन जाँच
उत्तर भारतको केही राज्यहरूमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर सुरू भएको छ। र पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भारतका ती राज्यबाट नेपाल भित्रिनेको संख्या पनि बढेको छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि भारतबाट नेपाल भित्रिने हरेक नागरिकको कोरोना परीक्षण गर्नुपर्ने हो। तर पर्याप्त जनशक्ति अभावका कारण सबैको जाँच हुन सकेको छैन।
त्रिनगर नाकामा राखिएको हेल्थ डेस्कमा खटिएका एक जना कर्मचारीले दिनेश खबरलाई भने, "दैनिक एक हजारको संख्यामा नेपालीहरू भित्रिरहेका छन्, तर हामी १ सयदेखि डेढ सयको संख्यामा मात्र जाँच गर्न भ्याइरहेका छौँ। डेस्कमा तीन जना मात्र खटिएका छौँ, जनशक्ति अभावकै कारण सबैको जाँच हुन सकेको छैन।"
यात्रुलाई घर पुग्ने हतारो, चालकलाई पैसा कमाउने चटारो
त्रिनगर नाकामा अटो, रिक्सा र नगर बसका चालकहरूले गौरीफन्टा पुगेर यात्रुहरूलाई बिना जाँच गन्तव्यमा पुऱ्याउने गरेका छन्। हेल्थ डेस्कमा जाँच गर्नको लागि कर्मचारीहरूले दिएको पर्चा अटो रिक्सा चालकहरूले कोरोनाको जाँच गर्नु पर्दैन भनेर च्यातेर आफ्नो अटोमा राखि उनीहरूलाई गन्तव्य पुऱ्याइरहेका छन्।
भारतको मुम्बइबाट आएर बिना जाँच गन्तव्यमा जान अटोमा बसेका एक जनाले भने, "हामीले किन जाँच गराउनु हामी हट्टाकट्टा छौँ, कुनै लक्षण पनि छैन। रूघाखोगी लागेको भए जाँच गराउनु ठिक हो, हामीलाई कुनै लक्षण नै छैन।"
त्यसैगरी हेल्थ डेस्कमा गरिएको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएकाहरू पनि सार्वजनिक यातायातको प्रयोग गरी आफ्नो घर गइरहेको पाइएको छ। तर यसबारे सम्बन्धित निकाय वा पालिकाले कुनै चासो नदेखाएको पाइएको छ।
यसरी पोजेटिभ आएकाहरूलाई सम्बन्धित पालिकाले एम्बुलेन्समा लगेर आइसोलेट र क्वारेन्टिन नगरिँदा कोरोना विकराल रूपमा फैलने चिन्ता झनै बढेको छ।