प्रधानमन्त्रीद्वारा शिलान्यास सहजपुर–बोगटान सडकको सबैभन्दा कम
कैलालीमा संघीय योजनाको ८ महिने प्रगति
कैलालीः कैलालीमा ठूला पूर्वाधारका योजनाको कामले गति नलिँदा पुँजीगत बजेट खर्चको अवस्था दयनीय रहेको पाइएको छ। जिल्लामा संघीय सरकारको बजेटमा निर्माण भइरहेका पूर्वाधारका योजनाको काम सुस्त भएपछि बजेट खर्च पनि न्यून देखिएको हो।
सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्चको अवस्था सन्तोषजनक नरहेको देखिएका बेला कैलालीमा संघीय सरकारले सञ्चालन गरका योजनामा पनि उस्तै स्थिति रहेको पाइएको हो।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार कैलाली जिल्लामा संघीय सरकारबाट सञ्चालित ठूला र साना गरि ९४ योजनाका लागि पुँजीगततर्फ ९ अर्ब ३४ करोड बजेट अख्तियारी भएका थियो। जसमध्ये चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिँदा २ अर्ब ७४ करोड २३ लाख अर्थात् ३१ प्रतिशत मात्र प्रगति भएको छ। ठूला पूर्वाधारका योजना कार्यान्वयन गरिरहेका निकायले बजेट निकासामा ढिलाइ भएपछि समस्या भएको बताएका छन्।
जिल्लामा संघीय सरकारको बजेटमा १० ठूला पूर्वाधारका आयोजना सञ्चालन भइरहे पनि चालु वर्षको २ चौमासिकको प्रगति विवरण आशा गरे भन्दा फरक रहेको पाइएको छ।
पुँजिगततर्फ ६३ करोड ६३ लाख बजेट पाएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले हालसम्म ७ करोड ४० लाख खर्च गरेर १२ प्रतिशत मात्र प्रगति गरेको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख जगन्नाथ दासले केही योजनाहरुको वहुवर्षीय ठेक्का र डीपीआर निर्माणमा ढिलाइ भएपछि प्रगति कम देखिएको बताए।
२ वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कालोपत्रेका लागि शिलान्यास गरेको सहजपुर–बोगटान–दिपायल सडकको काम पनि कछुवा गतिमै छ। पुँजिगततर्फ १ अर्ब १५ करोड २५ लाख बजेट पाएको सडक आयोजना कार्यालयले हालसम्म ३ करोड ९३ लाख खर्च गर्दै ३ प्रतिशत मात्र प्रगति गरेको छ। तर दुई चौमासिकको आर्थिक प्रगति कम देखिएपनि २७ प्रतिशतको हाराहारीमा भौतिक प्रगति भएको दावी आयोजनाको छ।
सहजपुर–बोगटान–दिपायल सडक आयोजनाका प्रमुख उज्जवल श्रेष्ठले कोष तथा लेखा नियन्त्रण कार्यालयमा नेपाल सरकारको भ्याटसहितको खर्चको मात्र रेकर्ड देखिने भएकाले कम प्रगति देखिएको बताए।
हामीले भारतको एक्जिम बैंकमार्फत् सोझै ठेकेदारलाई भुक्तानी गर्ने गरेका छौँ।ु उनले भने, ुकोलेनिकाको तथ्याङ्कमा कम प्रगति भएपनि हाम्रो वास्तविक भौतिक प्रगति २७ प्रतिशतको हाराहारीमा भएको छ।ु
धनगढी–मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजनाले भने अरु भन्दा राम्रो प्रगति गरेको छ। तर त्यो पनि सन्तोशजनक नरहेको बताइन्छ। पुँजीगततर्फ ४२ करोड १७ हजार बजेट पाएकोमा २७ करोड ५१ लाख खर्च गर्दै ६५ प्रतिशत प्रगति गरेको छ।
धनगढी–मोहनापुल–अत्तरिया ६ सडक आयोजना कार्यालयका सूचना अधिकारी लक्ष्मण रावलले आर्थिक प्रगति ६५ प्रतिशत भएपनि भौतिक प्रगति ८० देखि ८५ प्रतिशतको हाराहारीमा भएको बताए। विभागले समयमा बजेट निकासा नगर्दा सम्पन्न कामको पनि भुक्तानी गर्न नसकिँदा कम प्रगति देखेको उनको भनाइ छ।
यी बाहेककका रानी–जमरा–कुलरीया सिंचाइ आयोजना, परियोजना कार्यान्वयन इकाइ, रानी जमरा सिचाई आयोजना कृषितर्फ, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति, हुलाकी सडक योजना गरेर कैलालीमा १० ठूला पूर्वाधारका योजनामा मात्र ८ अर्ब ८५ करोड बजेट विनियोजन गरिएको छ। त्यसमा हालसम्म २७ प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ।