धनगढीमा विद्युत प्राधिकरणको कृषि मिटर जडानमा असुली धन्दा, २५ सय पर्ने मिटरमा ५ हजारसम्म खर्च
धनगढीः नेपाल विद्युत प्राधिकरणले सिङ्गल फेजको कृषि मिटरको सेवा शुल्क २ हजार ७२६ रूपैयाँ तोकेको छ। नियमअनुसार प्राधिकरणका कुनै पनि शाखाले तोकेको बाहेक ग्राहकबाट अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था छ। तर नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले भने सिङ्गल फेजको कृषि मिटरमा दोब्बरसम्म अतिरिक्त रकम असुल्ने गरेको गुनासो सेवाग्राहरूको छ।
कैलालीको कैलारी गाउँपालिका ४ का बतासु चौधरीले कृषि मिटरको नाममा ग्रामीण भेगकका नागरिकलाई सास्ती दिने कार्य भइरहेको बताए। विद्युत सम्बन्धी सानो कामको लागि गाउँका किसानले धनगढी धाउनुपर्ने बाध्य रहेको बताउँदै उनले घुमाउरो तरिकाले अतिरिक्त शुल्कको आपेक्षा पनि कर्मचारीहरुबाट आउने गरेको जनाए। रकम नदिएपछि अनेक कारण देखाउँदै दुःख दिने गरिएको गुनासो चौधरीको छ।
प्राधिकरणले थ्री फेजको कृषि मिटरको सेवा शुल्क २० हजार ६ सय २६ रूपैयाँ निर्धारण गरेको छ। तर सिङगल फेजमा जस्तै थ्री फेजमा पनि दोब्बरसम्म रकम असुली गर्न थालेपछि सेवाग्राही हैरान भएका छन्। त्यसरी अतिरिक्त शुल्क नदिने ग्राहकहरुको हकमा भने प्राधिकरणले अन्य काम नै ठप्प पारिदिने गरेको गुनासो उनीहरुको छ। कैलारी गाउँपालिकाको हरियाली नमूना कृषि गाउँ गहूँ कृषि समन्वय समितिकी अध्यक्ष, पार्वती चौधरी पनि प्राधिकरणबाट पीडित छिन्।
उनी अध्यक्ष रहेकी समितिले प्रदेश सरकारबाट गहुँ बिउ ग्रेडिङ्गको लागि मेसिनसहित अनुदान कार्यक्रम पाएको छ। खेतमा गहुँ तयार हुँदै गर्दा उनलाई त्यो गँहु कसरी ग्रेडिङ्ग गर्ने चिन्ताले सताएको छ। जसको प्रमुख कारण कृषि मिटर जडान नहुनु हो। लाख प्रयास गर्दा पनि हालसम्म मिटर जडान गराउन नसकेको पार्वती चौधरीले दुखेसो सुनाइन्।
उनले भनिन्,“काम हुन्छ भनेर, धनगढी बोलाउँछन्। तर धनगढी गएपछि पछि आउनुस् भन्छन्। अनाहकमा दुःख दिने कार्य मात्रै भएको छ। यता सिजन घर्किरहेको छ। योजना अनुसारको कार्यक्रम पनि गर्नुछ। तर विद्युत प्राधिकरणले अड्काएको छ।”
सोही कारण प्रदेश सरकारले कृषि उत्पादकत्व बढाउनका लागि भन्दै अनुदानमा दिएको गहुँको बिउ ग्रेडिङ्ग गर्ने मेसिन सञ्चालन गर्न समेत चौधरीसहित अन्य किसानलाई समस्या भइरहेको छ।
नेपाल विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्रले भने अहिले बजेट अभावका कारण मिटर वितरण गर्न नसकिएको दाबी गर्दै आएको छ। सिङ्गल फेज र थ्री फेज मिटरमा अतिरिक्त शुल्क लिएको विषयमा अनभिज्ञता प्रकट गरिएको छ। नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख, सुरेन्द्र चौधरीले तोकिएको भन्दा अतिरिक्त रकम लिन नपाइने बताए। लिएको बारे आफुलाई जानकारी समेत नभएको उनको भनाइ छ।