धनगढीको फर्निचर उद्योग आगलागीबाट नगरवासीले के-के पाठ सिक्न सक्छन्?
धनगढीः गर्मी याम सुरू भएसँगै धनगढीको फर्निचर उद्योगमा करोडौँको क्षति हुने गरी भएको आगलागीले सुदूरपश्चिमका गाउँ तथा नगरमा आगलागीको जोखिमप्रति अहिले धेरैको ध्यान तानिएको छ। फागुन-चैत महिनामा हावाहुरी चल्ने भएकाले सुदूर तराई क्षेत्रमा सानो आगो अनियन्त्रित भई भीषण आगलागीमा परिणत हुने गर्दछ। जस्ले गर्दा वर्षेनि करोडौँ बराबरको धनजनको क्षति हुने गरेको छ। यो वर्ष सुदूरपश्चिममा आगलागीका कारण कम्तीमा ८ जनाको ज्यान गइसकेको छ भने, करोडौँको क्षति भइसकेको छ।
शनिबार धनगढी उपमहानगरपालिका ४ चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालिमा आगलागी हुँदा झण्डै ८ करोड बराबरको धनमालको क्षति भयो। वेल्डिङ्ग मेसिनबाट निस्केको आगोको सानो झिल्काबाट आगलागी भएको हुनसक्ने ठानिएपनि प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ। जाडोमा भन्दा गर्मी याममा आगलागीका घटना तुलनात्मक रूपमा बढी नै हुने गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले विशेष गरी बिजुलीको तारमा शर्ट सर्किट भई आगलागी हुने गरेको बताए।
जोखिम कसरी घटाउँने?
बिजुलीको लागि कमसल वायरिङ र फ्युजहरूको प्रयोग गरिँदा शर्ट सर्किट भई आगलागी हुने गरेको पाइएको छ। आगलागीको जोखिम घटाउन लागि घर तथा भवनमा धुवाँको पूर्वसूचना दिने फायर अलार्म तथा आगो निभाउने उपकरण जडान र आपतकालिन द्वार निर्माण गर्न विज्ञहरूले सुझाव दिएका छन्।
सानो असावधानीले ठूलै दुर्घटना निम्त्याउँने गर्छ। सानो आगो अनियन्त्रित भएर ठूलो आगलागीमा परिणत हुने गर्दछ। यदी सानो आगोलाई बेलैमा नियन्त्रण गर्न सके धनजनको ठूलो क्षति हुनबाट जोगिन सकिन्छ।
धनगढी उपमहानगरपालिकाका अग्नी नियन्त्रक चन्द्रबहादुर पार्कीले आगलागीबाट जोगिन घर, पसल, भवन तथा उद्योगहरूमा आगोको पूर्वसूचना दिने फायर अलार्म, आगो निभाउन प्रयोग गरिने फायर एक्स्टिन्ग्विशर, ठूलो संरचना छ भने, आपतकालिन द्वार र स्वचालित अग्नि नियन्त्रण प्रणाली अनिवार्य रूपमा जडान गर्नुपर्ने सुझाव दिए। साथै शहर बजारमा दमकललाई सदैव तयारी अवस्थामा राख्नुपर्ने उनको भनाई छ।
ठूलो क्षति
राष्ट्रिय आपतकालिन कार्य सञ्चालन बोर्डको तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको ८ महिनामा आगलागीका १ सय १३ घटना घटेका छन्। घटनामा ८ जनाको मृत्यु भएको छ भने, १३ जना घाइते भएका छन्। १६ घर पूर्ण रूपमा जलेर नष्ट भएका छ। २९ घरमा आंशिक क्षति पुगेको छ। त्यस्तै ४४ गोठ जलेको छ भने, ३९ पशुचौपायाहरू मरेका छन्। धनगढीको फर्निचर उद्योगमा भएको आगलागीसमेत गरी सुदूरपश्चिममा आगलागीबाट झण्डै १५ करोडको क्षति भइसकेको छ।
त्यसैगरी गत आर्थिक वर्षमा आगलागीका १ सय १० घटना घटेका थिए। घटनामा ७ जनाको मृत्यु भएको छ भने, १७ जना घाइते भएका छन्। २४ घर पूर्ण रूपमा जलेर नष्ट भएका छ। २३ घरमा आंशिक क्षति पुगेको छ। त्यस्तै ३३ गोठ जलेको छ भने, ४८ पशुचौपायाहरू मरेका छन्।
आगलागी नियन्त्रणका लागि आगो निभाउने उपकरण राख्नका साथसाथै खुला ठाउँ, चुलो वा घरबस्ती वरपर जथाभाबी आगो बालेर नछोड्ने, केटाकेटीलाई सलाई वा लाइटरसँग खेल्न नदिने, ग्यास सिलिन्डरबाट बल्ने हिटर, गिजर वा चुलोको प्रयोग स्विच अफ गर्ने जस्ता व्यवहार पनि अपनाउनुपर्ने देखिन्छ। अग्नि सुरक्षा स्थिति सबल बनाउँदै आगोबाट जनधनको क्षति हुन नदिन पालिका तहमा नियम तथा निर्देशिका बनाएर अनिवार्य रूपमा परिपालना तथा अनुगमन आवश्यक हुन सक्छ।
धनगढी उपमहानगरपालिकाले के के पाठ सिक्यो ?
धनगढी उपमहानगरपालिका प्रवक्ता सन्तोष मुडभरीले आगामी दिनमा उपमहानगरपालिकाले ६ लेन सडक छेउमा पानीको सप्लाई राख्नुपर्ने बताए। त्यस्तै संरचना निर्माण गर्दा पूर्वसूचना दिने फायर अलार्म, आगो निभाउन प्रयोग गरिने फायर एक्स्टिन्ग्विशर, आपतकालिन द्वार अनिवार्य रूपमा जडान गर्नुपर्ने बताए। यी कुराहरूको व्यवस्थापन भएको भए अहिले यती ठूलो नोक्सानी बेहोर्नु नपर्ने उनको तर्क थियो।