सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका बादी समुदाय वषौँदेखिका आफ्नो माग सम्बोधन नभएको भन्दै आक्रोशित

२०७७ फाल्गुन १९, ०७:३२ सरेन जैरू

धनगढीः गोदावरी नगरपालिका–३ पूर्व–पश्चिम राजमार्ग किनारमा सानो झुपडीमा बसिरहेकी ७० वर्षीया नरपदा देवी बादीले गहभरी आँशु पार्दै आफूले मागेर, नाचगान गरेर र अर्काको दास बनेर जिन्दगी काटेको दुःखेसो सुनाइन्। 

आफ्नो पीडामा सरकारले कहिले मलम नलगाएको उनको गुनासो छ। आफूहरूले जसोतसो जिन्दगी काटेपनि नयाँ पीढीले दुःख नपाउन्, सरकारले उनीहरूको उचित व्यवस्थापन गरोस् भन्ने उनको एउटा मात्र सपना छ।

वर्षौँदेखि सरकारले आफ्नो जनजीविकासँग सम्बन्धित मागहरू सम्बोधन नगरेको भन्दै सुदूरतराईको बादी समुदाय थप आक्रोशित  भएको छ। 

बादी समुदायका सदस्य केही समययता गास, बास र कपासको माग गर्दै एकपछि अर्को सरकारी अड्डा बाहिर प्रदर्शनमा व्यस्त छन्। 

परम्परागत रूपमा देह व्यापार गर्ने गरेका बादी समुदायका नयाँ पुस्तामा महिलाले भने पुरानो पेशामा नफर्किने दृढता व्यक्त गरेका छन्। उनीहरूले देह त्याग गर्ने तर देह व्यापार नगर्ने बताएका छन्। 

गोदावरी नगरपालिका–३ मा अहिले अस्थायी टहरामा बसिरहेका बादी समुदायले २०६० सालदेखि गाँस, बास र कपासको माग गर्दै आएका छन् तर माग पूरा नहुँदा उनीहरूको बिचल्ली हुने क्रम जारी छ।

बादी समुदायहरू २०६० सालदेखी गाँस, बास, कपास, शिक्षा र रोजगारीका लागि लडिरहेका छन्। तर सरकारले अहिलेसम्म उनीहरूको माग सम्बोधन गर्न कुनै चासो देखाएको छैन। 

अस्थायी टहरामा बस्दै आएकी गीता देवी बादीले परापूर्व कालदेखि घुमेर, मागेर वा बाध्यताबस देह व्यापार गरेर आफ्नो जीविकोपार्जन गरिरहेका अहिलेका पीढीले त्यो गर्न नसक्ने बताइन्। 

अहिले गाँउमा माग्न जाँदासमेत भिक पाउन छाडेपछिसाँझ–बिहानको छाक टार्न पनि हम्मे–हम्मे परेको उनले दुखेसो पोखिन्। 

विगतमा बादी समुदायका महिलाहरू बालबच्चाहरूको पालनपोषण गर्न देह व्यापार गर्न बाध्य थिए। 

नाम नबताउने सर्तमा एक महिलाले छोराछोरी पाल्न आफूले १५ वर्षदेखि देह व्यापार गर्न बाध्य भएको तितो अनुभव सुनाइन्। उनले भनिन्, ’अब सरकारले आफूहरूलाई गरिखान सानो भएपनि जमिनको टिक्रा दिनुपरÞ्यो, रोजगारी दिनुपरÞ्यो। अन्यथा रेड लाईट एरिया खोलेर कमाउने बाटो खुला गर्नुपर्यो।’ 

तर नयाँ पीडी भने देह व्यापार गर्न चाँहदैनन्। उनीहरू भन्छन्, ’बरू देह त्याग गर्छौँ तर देह व्यापार गर्दैनौँ।’ 

टहरामैँ बस्दै आएकी २७ वर्षीया कमला बादीले पूर्खाले जे गरी पनि आफुहरू सम्मानका साथ  जीउन चाहेको बताइन्। राज्यले आफुहरूलाई गास, बास, कपास र रोजगारीको व्यवस्था गर्नुपर्ने उनको माग छ। 

बादी समुदायका महिलाहरू समाजमा आफूहरूलाई हेर्ने दृष्टिकोण नराम्रो भएको बताउँछन्। त्यसको पीडा पुरुष र घरमूलीलाई पनि पर्ने नै भयो। 

शिविराज बादीले समाजको गलत हेराइबाट आफ्नी श्रीमती, छोरी र बुहारीलाई  जोगाउन आफ्नो थर नै परिवर्तन गरेको दिनेशखबरलाई बताए। उनले समाजको कुदृष्टीबाट छोरी र बुहारीलाई  जोगाउन थर रानाभाट परिवर्तन गरेका छन्। 

२०६८ सालको जनगणना अनुसार १० हजारभन्दा बढी बादी समुदायका सदस्यहरू सुदूरपश्चिम प्रदेशमाबसोबास गर्छन्। 

अति विपन्न आर्थिक अवस्थामा रहेका उनीहरूले आफुलाई गास, बास, कपास र रोजगारीको व्यवस्था गर्न २०६० सालदेखि माग गरिरहेको छन्।

सरकारले २०६५ सालमा बादी समुदायका महिलाहरूलाई देह व्यापारको अन्त्य भएको घोषणा रहेको थियो भने गाँस, बास र कपासको व्यवस्थापन गर्ने निर्णय गरेको थियो। तर अहिले पनि बादी समुदायको समस्या ज्युँको त्युँ छ।

 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस