सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय

नक्कली पान नम्बर रहेको भौचर काटेर हजारौँ असुली

२०७७ फाल्गुन १७, ०९:२७ सरेन जैरू

धनगढीः धनगढीमा जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय भएको छ। इलेक्ट्रिसियनको जागिर लगाइदिने भन्दै हजारौँको ठगी गरिएको पीडितहरूले गुनासो गरेका हुन्।

बझाङ्गका सन्तोष बोहरा जागिरका लागि धनगढी आएका थिए। जागिरका लागि विभिन्न ठाँउमा प्रयास गरेपनि असफल भएको उनी बताउँछन्। तर गत माघ २५ गते फेसबुकमा जागिरको लागि आवेदन माग गरेको पोस्ट देखेपछि उनी खुसी भए, र तत्काल सम्पर्क गरे।  

दिब्यम मल्टिपर्पोज प्रालिका प्रतिनिधि बताउने विकास क्षेत्री र प्रविन क्षेत्रीलाई उनले धनगढीको आस्था होटलमा भेटेर अन्तर्वार्ता दिए। अन्तर्वार्ता पास गरेपछि इलेक्ट्रिसियनका लागि जागिर दिने भन्दै विकास क्षेत्री र प्रविन क्षेत्रीलाई आफुले ६ हजार रकम बुझाएको उनी बताउँछन्। 

जागिरका लागि रकम बुझाउने उनी एक्लै थिएनन्, अन्य २२ जना पनि जागिर पाउने आशामा ठगिएका छन्। 

धनगढी र महेन्द्रनगरमा ८ हजार थान थ्री फेज स्मार्ट मिटर जडान गर्नुपर्ने भन्दै उनीहरूले इलेक्ट्रिसियनको लागि अन्तर्वातामा पास गरि आफुहरूबाट पैसा असुलेको पीडितहरूको आरोप छ। 

उनीहरूले काठमाण्डौँको माछापोखरी ठेगाना उल्लेख भएको दिब्यम मल्टिप्रपोज प्रालिको भौचर काटेर रकम असुलेका थिए। तर भौचरमा उल्लेख गरिएको ठेगाना, फोन नम्बर र पान नम्बरसमेत फर्जी रहेको पाइएको छ। 

अहिले प्रतिनिधिलाई सम्पर्क गर्दा त्यस्ता पैसा कति खाए, प्रहरीलाई उजुरी दिए नराम्रो हुनेछ भन्दै धम्काउने गरेको पीडित गणेश बोहराले बताएका छन्।

उजुरीको कथा

आफूहरू ठगीएको चाल पाएपछि प्रहरी प्रशासन समेत धाएको उनीहरूले बताएका छन्। तर प्रहरी प्रशासनले उजुरी लिन आनाकानी गरेको उनीहरूको आरोप छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले भने त्यसबारे आफूलाई जानकारी नै नभएको प्रतिक्रिया दिएको छ।

यस्तै, ठगी गरेको आरोप लागेका दिब्यम मल्टिप्रपोज प्रालिको प्रतिनिधिहरुसँग प्रतिक्रिया माग्न सम्पर्क गर्ने कोसिस गरेपनि उनीहरूसँग सम्पर्क हुन सकेन। 

पछिल्लो समय धनगढी सहित सुदूरपश्चिम प्रदेशमा जागिर लगाउने, पैसा दोब्बर पार्ने वा अन्य प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय बनेकाले सचेत रहन आग्रह गरिएको छ। 
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस