सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्ण प्रजातन्त्र स्थापना गर्न अगुवाहरू 'विफल'

२०७७ फाल्गुन ७, ०७:३१ सरेन जैरू

धनगढीः नेपालमा प्रजातन्त्र स्थापना भएको ७ दशक पूरा हुँदासमेत पूर्ण प्रजातन्त्र स्थापना गर्न अगुवाहरू अझै विफल रहेको भन्दै विज्ञहरूले वर्तमान नेतत्वको खरो आलोचना गरेका छन्। प्रजातन्त्र स्थापना पश्चात् पनि प्रतिगमन फर्किएको भन्दै उनीहरूले दुखेसो पोखेका छन्।

प्रजातान्त्रिक पद्धति संस्थागत हुन नसक्दा रोजगारीको खोजीमा अझै पनि नेपाली युवा विदेशिनु पर्ने बाध्यता हटिसकेको छैन, स्वास्थ्य तथा शिक्षाको पहुँच सहज भइसकेको छैन। साथै जाति, धर्म, भाषा, संस्कृतिका आधारमा हुने विभेदसमेत कायम रहेका छन्।

वीर शहिदहरूको प्राण आहुति र नेपाली जनताको अथक प्रयासले बिक्रम संवद २००७ साल फागुन ७ गते देशमा प्रजातन्त्र स्थापना भयो।

पूर्वमन्त्रीसमेत रहेका सुदूरपश्चिमका ८३ वर्षीय बामपन्थी नेता चन्द्रदेव जोशी प्रजातन्त्र स्थापना भएको हेर्ने साक्षी हुन्। २००७ सालमा प्रजातन्त्र स्थापना भएपनि आफुले २००८ सालमा थाहा पाएको उनी बताउँछन्।

"प्रजातान्त्रका लागि आन्दोलन गर्ने नेताहरूमा देशभक्तिको भावना थियो।" उनले भने, अहिलेका नेतृत्वको विगत राम्रो नभएका कारण उनिहरूले वर्तमानमा राम्रो काम सकेका छैनन्। अब नयाँ नेतृत्व अगाडि आउनुपर्छ।"

पाका नेताहरूका विचारमा सरकार जनताको विश्वासमुखी हुनुपर्दछ; सरकार चलाउने नेतृत्वमा देश समाज र राष्ट्रहित प्रतिको इमानदारिता, लगनशिलता र इच्छाशक्ती हुनुपर्छ; नेतृत्वमा जनताको विकास, राष्ट्रहितको भावना जागृत हुनुपर्दछ।

बझाङका पुराना नेता एवम् राजनीतिज्ञ हरिलाल भट्टराईले अहिलेको नेतृत्वमा आफ्नो व्यक्तिगत स्वार्थ हावी भएकोले समस्या देखिएको तर्क गरे।

अहिले देशमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली छ। प्रजातन्त्र जनताले, जनताको लागि, जनताद्वारा शासन सञ्चालन गरिने पद्धति भएकोले जनताले विकास पाउने आशा गरेका थिए।

थारू कल्याणकारी सभा कैलालीका सभापति प्रभातकुमार चौधरीले २००७ सालमा प्रजातन्त्र स्थापना भएपनि जनताले राज्यबाट केही नपाएको गुनासो गरे।

बिक्रम संवद २००७ फागुन ७ गते एकतन्त्रीय जहाँनिया राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा शुक्रबार सुदूरपश्चिम सहित देशभरी ७१ ‍औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ।

तर राजतन्त्रको छत्रछायाँमा त्यो पटक-पटक छिनिएर देशमा पुन: प्रजातन्त्र स्थापना भएर गणतन्त्रसमेत आएसक्दा जनताका समस्या सम्बोधन हुन नसकेको अनुभव धेरै पाका नेताको छ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते अचानक संसद विघटन गरिदिएपछि देशमा प्रजातन्त्र र प्रजातान्त्रिक संस्कारबारेका बहस पुन चर्किँदै ती अहिले देशैभर सडकहरूमा पोखिने क्रम जारी छ।

 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस