सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा माघीको खुशियाली

२०७७ माघ १, ०७:०६ विन्दु चन्द

धनगढी: आज माघ १ गते, चाकु, तरुल र तिलको लड्डुजस्ता खानेकुरा खाएर माघे संक्रान्ति पर्व मनाइएको छ। हरेक वर्ष माघे संक्रान्तिलाई विशेष रुपमा मनाउने चलन अनुसार सुदूरपश्चिममा पनि विभिन्न समुदायले भिन्नभिन्न तरिकाले मनाउँने परम्पराअनुसार यो पर्व मनाइएको हो। 

माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुँदा यसलाई मकर संक्रान्ति पनि भनिन्छ। आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजासँगै पोषिला खानेकुरा खाएर यो पर्व मनाउने गरिन्छ। माघ १ का दिन तिलौराको रुपमा तिल दान गर्ने चलन छ, जुन सुन दान गरिए सरह हुने धर्मशास्त्रमा उल्लेख छ।  

बिहीबार परेको माघे संक्रान्ति पर्वलाई सुदूरपश्चिमका पहाडी समुदायले पनि हर्षोउल्लासका साथ मनाएका छन्। बिहानै उठेर पवित्र भएर नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजासँगै मिठा पोषिलो खानेकुरा खादै पर्व मनाएको स्नानका लागि गोदावरी धाम पुगेकी बेलुदेवि सावदले बताइन्। उनले आफ्नो बाल्यकाल सम्झिँदै भनिन्, “सानो हुँदा २÷३ बजे राति नै उठेर सबै साथिहरु मुढा बालेर रमाइलो गथ्र्यौ। उखु पड्काउँथ्यौँ, सेलरोटी, तरुल लगायतका मीठा मिठा खाने कुरा खाएर नाचगान गर्दै रमाइलो गथ्र्यौ।”

यस्तै थारु समुदायले पनि नयाँ वर्षको रुपमा माघी पर्व मनाएका छन। आजको दिन नाचगान गर्ने, मिठा मिठा परिकार बनाएर खाने चलनअनुसार माघी पर्व मनाउँदै आएपनि यसवर्ष भने कोरोना कहरका कारण अपेक्षा गरेअनुसारको उल्लासमय नभएको गोदावरी धाममै भेटिएकी राजुकुमारी चौधरीको भनाइ छ। उनले आजको दिन एक जनाले मादल बजाउने, एक जनाले लेहेगां लगाएर नाच्ने र अन्यले नाचेर रमाईलो गर्ने गरेको बताइन्। तर कोरोनाका कारण भने यसवर्ष नुवाईधुवाई गरी समान्य पूजापाठपछि सबै आ–आफ्नो कामतिर लागेको बताइन। 

मकर सक्रान्तीकै अवसरमा विगतका वर्षहरुमा कैलालीको गोदावरी धाममा बाह्रराशी दर्शन मकर मेला लाग्ने गरेकोमा यस वर्ष भने कोरोनाकै कारण मेलाको आयोजना हुन सकेन। तैपनि श्रद्धालु भक्तजनहरु भने बिहीबार बिहानैदेखि स्नान र पूजापाठका लागि त्यहाँ पुगेको देख्न सकिन्थ्यो। 

कैलाली, कञ्चनपुर लगायतका पहाडि जिल्ला र भारतबाट पनि भक्तालुहरु आउने गरेकोमा यस वर्ष भने विगतमा जस्तो उल्लेख्य सहभागिता नरहेको गोदावरीमा स्नान गर्न पुगेका रामबहादुर नागरीले बताए।

तर पछिल्लो समय माघे संक्रान्ति र माघी पर्व मनाउने परम्परागत शैली फेरिन थालेकोप्रती संस्कृतिप्रेमीहरुले भने चिन्ता व्यक्त गर्दै आएका छन। यसले कतै परम्परा नै तोडिने त होइन भन्ने आशंका गरिएको छ।   

 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस