'बाघ देखेपछि मोटरसाइकल झन जोडले हाँके तर पछाडी बसेकी आमालाई झम्टेर लगिहाल्यो'
कैलालीका आमा छोरामाथि बाघको आक्रमण
धनगढी: गत शुक्रबार लम्कीचुहा नगरपालिका कौवापुरका सन्तोष थापा र उनकी आमा कोहलपुरबाट उपचार गरेर घर फर्किरहेका थिए। रातिको करिब ९ बज्न थालेको थियो।
बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक पुग्दा उनीहरुसँग कहिले नभुल्न सकिने घटना घट्यो। घटनामा सन्तोषले आफ्नी ५२ वर्षीया आमा नन्दकलालाई गुमाए। उनकै आँखा अगाडीबाट बाघले आमालाई खोसेर लग्यो।
यसरी भएको थियो घटना
उक्त दिन वास्तवमा के भएको थियो ? सन्तोष यसरी सुनाउँछन् घटनाको बेलिबिस्तार।
"अम्रेनी चेकपोस्ट कटेको करिब ६ किलोमिटर भएको थियो। साँझको करिब ९ बज्न लागेको थिायो। मोटरसाइलकमा घर आइरहेका बेला अचानक आँखा अगाडि बाघ देखियो। बाघलाई टाढाबाट देखेको भएर बाइक मोड्न हुन्थ्यो तर आँखै अघि देखेपछि सुरुमा के गरौं गरौं भयो।
मैले बाइक जोडले हाँकेर लैजाने निर्णय लिए। बाइक स्पिडमा हाँके। त्यही समयमा बाघले पछाडी बसेकी आमामाथि झम्टियो र आमालाई लगेर गयो। म मोटरसाइकलसहित सडकमा खसेको थिए। हातमा चोट लागेको त्यति दुखेको थिएन जती आमालाई आँखा नदेख्दा दुख्यो। म जोडजोडले कराए तर त्यो सुनुसान सडकमा मेरो आवाज सुन्ने केही थिएन। एकैछिनपछि उक्त राजमार्ग भएर जाने ट्रक आयो। मैलै ट्रकमा सवार भएकाहरुलाई सबै घटनाबारे सुनाए। र, अम्रेने चेकपोष्टमा गए।
त्यसपछि राति सेना तथा निकञ्जका कर्मचारीले आमाको खोजी गरे तर भेटेनन्। जेसीबीसहितको टोलीले घटना भएको स्थानबाट केही टाढा आमाको खैरो रंगको ज्याकेट र मोबाइल फेला पार्यो तर आमाको अत्तोपत्तो लाग्न सकेन। बिहानको करिब ४ बजेसम्म खोज्यांै तर भेटाएनौं। पछि सेनाहरुले मलाई घर जान र बिहान आउन भने।
घर फर्किपछि म बिहान पुनः सोही स्थानमा गए। आमाको शव त्यही मोबाइल भेटिएको स्थानबाट ५० मिटर पर भेटिएछ। बाघले आमाको एउटा खुट्टा खाइसकेको थियो। एउटा खुट्टा तानेर अलग्गै थियो। हात पनि खाइसकेको थियो। मुहार चिन्न सकिने अवस्थामा थिएन। मैलै हेर्नै सकेन।
मैलै आमा गुमाए। तर अब त्यस्तो घटना कसैसँग नहोस्। त्यसका लागि निकुञ्जले उक्त स्थानलाई सुरक्षीत बनाउन पहल थालोस्।"
घटनापछि निकुञ्जमा राति यात्रा गर्न रोक
उक्त घटनापछि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघले झम्टिएर मारेपछि रातको समयमा यात्रा गर्न रोक लगाइएको छ।
राति ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाइकल, साईकल जस्ता साना सवारी साधान सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।
त्यस्तै अब दिउँसोको समयमा सवारीहरू दशको संख्यामा जम्मा भएपछि मात्रै यात्रा गर्न दिइने र एक्लाएक्लै यात्रा गर्न नपाइने नियम लागू गरिएको बताइएको छ।