सुदूरपश्चिमबाट ठूलो पर्दामा जमेका ‘मायालु’, अब धनगढीमै ‘कला केन्द्र’ खोल्न चाहान्छन्
धनगढी: सुदूरपश्चिमबाट पहिलो राष्ट्रिय कलाकार बनेका उमेश मायालु। जसलाई बाल्यकालबाट नै अभिनय क्षेत्रमा रुचि जागेको थियो। बाल्यकालमै छिमेकी तथा विद्यालयका साथीहरु उनको अभिनय देखेपछि हुरुक्कै हुन्थे। उनी विशेषगरी हास्य कलाकारिता प्रदर्शन गर्थे।
२०२८ सालमा डडेल्धुराको अमरगढी नगरपालिका–५ मा रहेको एक दलित समुदायमा जन्मेका उनलाई राष्ट्रिय स्तरमा पुग्न सहज थिएन। नत पारिवारिक क्षमता, नत उनको पहुँच। त्यसैले उनी अमरगढी नगरपालिका–५ मै रहेको महेन्द्र माविको अध्ययनलाई बिट मारेर तत्कालीन नेपाली सेनामा भर्ना भए।
उनले त्यहीबाट आफ्नो कलाकारिता क्षेत्रको यात्रा सुरु गरेका थिए। २०४० तिर १४ वर्षको कलिलै उमेरमा उनी नेपालगञ्जमा सेनामा भर्ना भएका थिए। त्यहाँ रहेर उनले आफ्नो अभिनय कलालाई निखार्दै गए।
तर सेनाभित्र हुने विभिन्न बन्देजका कारण उनी खुलेर आफ्नो प्रतिभा देखाउन भने सक्ने अवस्थामा थिएनन्। त्यसैले उनी सेनाको जागिर छाडेर प्रहरीको जागिर गर्न पुगे। प्रहरीले उनलाई महेन्द्र पुलिस क्लबमा स्थान दियो। उनी त्यहाँ नृत्य, नाटक र क्यारिकेचर गरेर सबैलाई मनोरञ्जन प्रदान गर्थे।
त्यहि समयमा उनले तत्कालीन राजा विरेन्द्र शाहको जन्मोत्सवमा आफ्नो प्रतिभा देखाउने मौका पाएका थिए। तर विभिन्न बन्देजका कारण उनी प्रहरीको जागिर पनि छोड्न पुगे।
त्यसपछि उनी खुलेलै आफ्नो लक्ष्यमा लाग्नसक्ने भए। सेनामा ४ वर्ष र प्रहरीमा ५ वर्ष जागिर गर्दा कलाकारितामा उपलब्ध भएको अनुभवका कारण उनलाई सहजै मौका मिलिहाल्यो।
कलाकारिता क्षेत्र सोचे जस्तो सहज नभएको बताउने मायालुले पहिलो पटक २०४७ सालमा चेलिबेटी नामक चलचित्रमा अभिनय गरे। आफ्नो घरबाट १ पैसा पनि नलिएको बताउने उनी भन्छन्, ‘धेरै गाह्रो भएको थियो, सुरु–सुरुमा आलुचिउरा खाएर काठमाडौंमा धेरै रात कटाए हुँला मैले।’
करिब ५० चलचित्रमा अभिनय, कलाकारका गुरु
चेलिबेटीपछि प्रेमपिण्ड, पराई घर, श्री स्वस्थानीलगायतका ४८ चलचित्रमा अभिनय गरेका उमेश मायालुले ६ भन्दा बढी टेलिसिरियलमा अभिनय गरिसकेका छन्। चर्चित तितो सत्य तथा हर्के हवल्दार टेलिसिरियलमा हास्य कलाकारको रुपमा देखापरिसकेका तथा थुप्रै नाटक तथा कार्यक्रममा निर्देशन गर्न समेत भ्याइसकेका उनले केही कलाकार पनि जन्माएका छन्।
चर्चित अभिनेत्री ऋचा घिमीरे,उषा पौडेल, अभिनेता सुमन सिंह र प्रदिप खड्का, जीवन लुइटेल र सुमन सिंह आफ्नै प्रशिक्षार्थी भएको उनले दिनेश खबरलाई बताए। यस्तै आफुले विभिन्न विज्ञापनमा समेत अभिनय गरेको उनी बताउँछन्। साथै आफु चराचुरुंगी र विभिन्न व्यक्तिका आवाज क्यारिकेचर गर्नमा समेत पोख्त रहेको उनले बताए।
कलाकारिता क्षेत्रमा लागेपछि उनी थुप्रै पुरस्कारबाट पनि सम्मानित भएका छन्। २०५८ सालमा नियो क्लब अफ रत्ननगरबाट पहिलो सम्मान पाएका उनले नेपाल युवा समाज, सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठान, नेपाल साँस्कृतिक कला मन्दिर तथा गैरआवाशिय नेपाली संघबाट समेत सम्मान पाइसकेका छन्।
अब हेलो काशिराम र आकाशे खेती नाम गरेका २ चलचित्रमा उनको अभिनय देख्न सकिनेछ।
राजनीतिक पहुँच नहुँदा ओझेलमा
राजधानी पुगेर सुदूरपश्चिमबाट संघर्ष गर्न सजिलो नभएको बताउने उनले हालसम्म सम्पत्तीको नाममा थोरै जग्गा मात्र जोडेका छन्। करिब ३५ वर्षसम्म थोरै पैसामा काम गरेर उनी यहाँसम्म पुगेका छन्। तर आफ्नो राजनीतिक पहुँच नहुँदा कुनै बार्डमा स्थान नपाएको उनको गुनासो छ।
यति धेरै अनुभव भएर पनि चलचित्र विकास बोर्ड, चलचित्र कलाकार संघ तथा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आवद्ध हुने मौका नपाएको उनले बताए। ‘त्यहाँ पूर्वतिरका नेताहरुले आफ्नो आफ्नो मान्छेलाई अवसर दिए तर हाम्रा सुदूरपश्चिममा नेताहरुलाई मतलब छैन। सोही कारण सुदूरका जनताहरु कलाकारिता क्षेत्रबाट पिछडिएका जस्तो मलाई लाग्छ’ उनले भने। आफुलाई कुनै स्थान दिइए सुदूरपश्चिमका कलाकार तथा कला संस्कृतिलाई प्रवद्र्धन गर्ने उनी बताउँछन्।
धनगढीमा कलाकेन्द्र खोलेर नयाँ कलाकार जन्माउने लक्ष्य
अभिनय क्षेत्रमा थुपै अनुभव बटुलेर उमेश मायालु अब सुदूरपश्चिम बस्ने योजनामा छन्।
‘यहाँ कला क्षेत्रमा रुचि भएकाहरुले पनि आफ्नो प्रतिभालाई लुकाएर राख्ने परिपाटी छ। कारण, कुनै ठाउँ अथवा मौका नपाएर’ उनी भन्छन्, ‘यस्तै यहाँ कुनै कलाकेन्द्र नभएकाले पनि होला नयाँ कलाकारले आफ्नो प्रतिभा निखार्ने मौका पाइरहेका छैनन्। त्यसैले म कलाकेन्द्र खोलेर सञ्चालन गर्ने सोचमा छु।’ सो कुरामा उनलाई कलाकार दिपेन्द्र साउदले सहयोग गरिरहेको मायालुले सुनाए।
आफुभित्रको कलालाई निखार्न विभिन्न तालिम तथा शिक्षा लिन आवश्यक रहेको भन्दै ज्ञान तथा सीप प्राप्त गरेर मात्रै चलचित्र क्षेत्रमा प्रवेश गर्न उमेश मायालुले सुझाव दिएका छन्।