सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको साँघुरो सडक जाम गरेर आन्दोलन, भीमदत्तको शालिकमै गएर भाषण

राजनीतिक दलको आन्दोलनले जनतालाई सास्ती

२०७७ पुष १५, ०२:५४ आशिष मल्ल

धनगढी ः डडेल्धुरा सदरमुकाम भएर जाने साँघुरो भीमदत्त राजमार्ग। सोही सडक भएर सुदूरपश्चिमका ९ वटै जिल्लामा यातायातका सवारी साधन चल्ने गर्छन्। चौडा हुने ठेगान नभएको उक्त साँघुरो सडकमै दैनिकजसो आन्दोलनका कार्यक्रम भइरहेका छन्। पटकपटक सडक स्तरोन्नती गर्न टेण्डर खुल्दा पनि हालसम्म उक्त सडकमा केही काम हुन सकेको छैन। राजनीतिक दबाबका कारण उक्त टेण्डर जतिपटक खुल्छ, उतिनै पटक स्थगित हुन्छ। 

जसोतसो साँघुरो सडकमै गाडी गुडाइरहेका तथा पैदल हिड्ने यात्रुलाई दैनिक हुने प्रदर्शनका कारण सास्ती भइरहेको छ। सदरमुकामको बागबजारमा रहेको शहिद भीमदत्त चोकमै आन्दोलनका कार्यक्रम हुने भएकाले सडक पूर्णरुपमा अवरुद्ध हुने गरेको छ। 

मंगलबार मात्रै नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै सोही चोकमा सभाको आयोजना गरेको थियो। तुफानडाँडाबाट सुरु भएको पार्टीको र्याली बसपार्क हुँदै भीमदत्त चोकमा कोणसभामा परिणत भएको थियो।

सभामा पार्टीका नेता कार्यकर्ताले शहिद भीमदत्तको शालिक राखिएको ठाउँमा उभिएर सम्बोधन गरेका थिए। कार्यकर्ताले भने चोकमा बसेर तथा उभिएर आफ्ना नेताका भाषण सुनेका थिए। सोही क्रममा सडक करिब ३ घण्टासम्म पूर्णरुपमा अवरुद्ध बनेको थियो। 

त्यस्तै सोमबार सोही संसद् विघटनको कुरालाई लिएर नेपाली कांग्रेस डडेल्धुराले पनि प्रदर्शन गरेको थियो। कांग्रेसका नेताले पनि सोही ठाउँलाई भाषण गर्ने थलोको रुपमा प्रयोग गरेका थिए। सुरुमा सडक र्याली निकालेको कांग्रेसले भीमदत्तचोकमा सभाको आयोजना गरेको थियो।

जहाँ सयौंको संख्यामा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो। कांग्रेसको कार्यक्रम हुँदै गर्दा एउटा एम्बुलेन्स सोही सडक भएर जानुपर्ने थियो। सडक पार्टीका कार्यकर्ताले भरिभराउ भएका कारण उक्त ऐम्बुलेन्सलाई भीमदत्त चोक कटाउन केही समय लागेको थियो। तर एकजना अस्पताल गइरहेका बिरामीले भने २ घण्टा भन्दा बढी रोकिनुपर्‍यो। 

यसैगरी केहीदिन अघि राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राजावादीहरुले समेत उक्त चोक भएरै विरोध प्रदर्शको कार्यक्रम गरेको थियो। सडकमा नाराबाजीसहितको र्याली निकाल्दा त्यति बेलापनि साँघुरो सडक अवरुद्ध बनेको थियो। भीमदत्त राजमार्ग भएर जाने लामो तथा छोटो दुरीका सवारी साधन केही समय रोकिएका थिए। 

यस्तै विभिन्न विद्यार्थी संगठन तथा अन्य युवाहरुले विरोधका कार्यक्रम गर्न सोही भीमदत्त चोकलाई प्रयोग गर्छन। कतिपय समयमा आफ्नो गन्तव्यमा गइरहेका चालकलाई डर त्रास देखाएर सवारी रोक्न लगाइने गरेको उनीहरुले गुनासो गरेका छन्। 

युवाहरुले थाले ‘राजनीति चाहिँदैन, बाटो बन्द गर्न पाइँदैन’ अभियान
पार्टीका कार्यक्रमका कारण सडक नै जाम हुन थालेपछि सर्वसाधारणले विनासित्ति सास्ती पाएको भन्दै डडेल्धुराका केही युवाहरुले त्यसका विरुद्ध आवाज उठाउन थालेका छन्। 

डडेल्धुरा सदरमुकाममा व्यापार गरिरहेका युवा प्रकाश जोशीले विनाकारण जनतालाई सास्ती भइरहेको गुनासो गरेका छन्। ‘अस्ती (सोमबार)मेरो बसपार्क जाने काम थियो तर प्रदर्शका कारण सडक बन्द भएकाले ३ घण्टासम्म मेरो काम रोकियो’ उनले भने। 

यस्तै सदरमुकामकै गणेश विष्टले पनि वैकल्पिक सडक नभएको अवस्थामा चोक नै अवरुद्ध पारेर कार्यक्रम गरिनु उपयुक्त नभएको बताएका छन्। बजारमा आउने ग्राहकलाई सास्ती भएका कारण व्यापार व्यवसाय समेत घटेको उनले सुनाए। 

यस्तै सदरमुकामकै केआर उप्रेती भन्छन्, ‘उहाँहरुको स्वार्थको कारण मृत्युसँग लडिरहेका बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउनसक्छ। उहाँहरुलाई लाज छैन, कुन मुखले भन्छन् जनताको लागि लड्दैछौ। आन्दोलन गर्नुछ भने खुल्लामञ्चमा जानुहोस्।’ उनले आम सर्वसाधारणको दिनचर्यामा प्रभावित बनाउने मुख्य जिम्मेवार स्थानीय प्रशासन र जनताको लागि राजनीति गर्ने भनिएका राजनीतिक दल भएको आरोप लगाएका छन्। 

यस्तै समस्याका कारण केही समयअघि शहिद भीमदत्त पन्त प्रतिष्ठानले उक्त शालिक परिसरमा पार्टीका तथा व्यापारिक पर्चा टास्न तथा कार्यक्रम बन्देज गर्न आग्रह गरेको थियो। तर उक्त आग्रहको कसैले पालना गरेन।

उसो त डडेल्धुरा बसपार्कमा आयोजना हुने विभिन्न मनोरञ्जात्मक तथा सांस्कृतिक कार्यक्रमले समेत बाटो हिड्ने पैदल यात्री तथा सवारी साधनलाई सास्ती हुँदै आएको छ। पटकपटक त्यस्ता कार्यक्रम अमरगढी नगरपालिका–४ मा रहेको खुलामञ्च टुँडिखेलमा गरिनुपर्ने आवाज उठ्दै आएकोमा त्यसको सबैले वेवास्ता गर्दै आएका छन्। 

यस विषयमा अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वर प्रसाद ओझाले समेत साँघुरो बागबजारमा कुनै राजनीतिक तथा अन्य किसिमका कार्यक्रम गर्नु उपयुक्त नभएको बताएका छन्। ‘दोष कसलाई लगाउने सबै पार्टीले भीमदत्त चोक र बसपार्क नै रोज्छन्। कार्यक्रम गर्नका लागि त टुँडिखेल उपयुक्त स्थान हो’ उनले भने। 

 
 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस