कैलालीका उदीयमान इन्जिनीयर सुमन, जो कक्षा ६ मै विद्युतीय सामान बनाएर बेच्थे
धनगढी: त्यतिबेला सशस्त्र द्वन्द्वकालको समय थियो। देशभर बिद्रोही पक्ष र सरकारपक्षबीच दैनिकजसो भिडन्त भइरहन्थे। त्यही संकटकालमा एक बालक भने विभिन्न खोजमूलक आविष्कारमा केन्द्रित थिए।
ती बालक थिए, सुमन पौडेल। २०५१ सालमा कैलालीको पहलमानपुरमा जन्मेका पौडेल सानैदेखि अध्ययनशिल र जिज्ञासु स्वभावका थिए। त्यो समयमा पहलमानपुरमा बिजुली थिएन। त्यो समस्याले उनलाई जीवनको पहिलो अविष्कार गर्न उत्प्रेरित गर्यो। कक्षा ६ मै अध्ययन गर्दा उनले गोबरबाट बिजुली निकारेर चिम बाले। सानै उमेरमा आफुले बत्ती, सानो हेलिकोप्टर तथा हावा आउने पंखा बनाएको सुमन बताउँछन्।
त्यो कुराबाट उनको ६ सदस्यीय परिवार आश्चार्य चकित भयो र खुसी पनि। सामान्य होटल सञ्चालन गरेर परिवार पाल्दै आएका उनका बुवाआमालाई छोराको प्रविधि मोहप्रति आशा जाग्यो र छोराको चाखप्रति उनीहरुले सधै सहयोग गर्ने निर्णय गरे।
टर्च बनाएर ११ वर्षमै कमाइ
गोबरबाट बिजुली निकालेर मात्रै सुमनको यात्रा रोकिने कुरा भएन। उनले त्यही समयमा ब्याट्रीबाट बल्ने टर्च बनाएका थिए। घरमा बनाएका ती सामानले राम्रो काम गरेपछि उनले धेरै थान टर्च बिक्री गर्न थाले।
त्यो काममा उनकी दिदीले सघाएको सुमन बताउँछन्। ‘संकटकालमा विद्रोही पक्ष माओवादीलाई राति हिड्नुपर्ने हुन्थ्यो। त्यही ब्याट्रीबाट धेरै समय टिक्ने मैले बनाएका टर्च किनेर उनीहरु लग्ने गर्थे’ उनी सम्झिन्छन्।
सानै उमेरदेखि विभिन्न विद्युतीय उपकरणमा रुचि राख्ने उनले पहलमानपुरमै रहेको कान्ति राज्य लक्ष्मी उच्च माविबाट २०६६ सालमा एसएलसी पास गरेका थिए।
इन्जियरिङका विभिन्न कोर्ष र तालिमको अनुभव
एसएलसी सक्किएपछि उनी नेपालगञ्जस्थित भेरी प्राविधक शिक्षालयमा डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ गर्न गए। त्यहाँ बस्दा उनले धैरै किसिमका प्रविधि निर्माण गर्न सके।
‘नजिकै रहेको भारतीय बजार रुपेडियामा विभिन्न विद्युतीय सामान पाइने भएकाले मलाई नेपागञ्जमा धेरै कुरा आविष्कार गर्न सहज भयो’ उनले भने, ‘त्यो बेला रात परेपछि आफै बल्ने बत्ती, चोर आएपछि मोबाइलमा एसएमएस जाने सिस्टम, रोबोट जस्ता ६/७ वटा प्रविधि निर्माण गरेको थिए।’
नेपालगञ्जमा डिप्लोमा कोर्ष सकिएपछि सुमनले दुर्घटना न्यूनिकरण गर्न मद्दत गर्ने बे्रक बनाएका थिए। ‘मेलै चालक निदाए आफै ब्रेक लाग्ने प्रविधि निर्माण गरेर परीक्षण गरेको थिए। त्यो बेला धनगढीबाट दार्चुला चल्ने ना४ख ३४६० नम्बरको बसमा मेलै त्यो सिस्टम लगाएको हुँ। उक्त बसमा त्यो प्रविधि सफल समेत बनेको थियो’ उनले दिनेश खबरसँग भने।
उक्त प्रविधिको निर्माणपछि २०७२ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुमनलाई नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)मा ६ महिना अनुसन्धान गर्न मिल्ने गरी सिफारिस गरेका थिए। त्यहाँ बसेर उनले मन्त्रालयका गाडीमा समेत त्यो स्वचालित प्रविधि जडान गरेका थिए। तर आधिकारिक रुपमा सफल नबनेकाले उक्त प्रविधि अहिले पनि अनुसन्धानकै क्रममा रहेको सुमन बताउँछन्।
अहिले सुमन काठमाडौंको बालकुमारीस्थित हिल साइड कलेज अफ इन्जिनीयरिङमा इलेक्ट्रिक इन्जिनियरिङ स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत छन्।
२६ वर्षे उमेरमा ३ संस्थामा आवद्ध
अहिले सुमन पौडेल कैलालीको टीकापुरमा बसेर विभिन्न अनुसन्धान गरिरहेका छन्। उनले त्यहाँ साइन्स तथा आर्ट म्यूजियम खोलेका छन्। जहाँ विद्यार्थीहरु गएर विभिन्न नयाँ–नयाँ प्रविधि अवलोकन गर्न सक्नेछन्। करिब १ करोडको लगानी रहेको उक्त म्यूजियममा १० रुपैँया शुल्क तिरेर विद्यार्थीहरुले नौलो कुरा देख्न र सिक्न पाउने सुमन बताउँछन्।
साथै टीकापुरमै उनले पाथीभरा सेन्सर सोलुसन उद्योग खोलेका छन््। जहाँबाट उनकै काइचो ग्रुप तथा अन्य निर्माण कम्पनीमा निर्माण भएका नयाँ प्रविधि उपलब्ध हुन्छन्। त्यस काममा उनका मित्र विजयराज शाहीले सघाएका छन्। उनीहरुले अहिले काइचोबाट क्यू म्यानेजमेन्ट सिस्टम, कोभिड रिपोर्ट सिस्टम तथा डिजिटल नोटिस बोर्डलगायतका थुप्रै प्रविधि विकास गरिसकेका छन्।
हालसम्म सुमनले विभिन्न पुरस्कार समेत पाइसकेका छन्। युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७६, ग्लोबल एण्ड फ्रेन्डशिप बुटक्याम्प २०१९, इन्डोनेशियामा बिजनेश आइडिया, मलेशियामा बेस्ट विजनेस अवार्ड, राष्ट्रिय वैज्ञानिक सम्मेलनमा दोस्रो स्थान उनले प्राप्त गरिसकेका छन्।
स्वदेशमै बसेर कृषकलाई ‘फर्मुला’ सिकाउने लक्ष्य
धेरैजसो इलेक्ट्रिक इन्जिनीयरहरु पढाइपछि विदेश जाने गर्छन् तपाईको आगामी योजना के छ भन्ने प्रश्नमा सुमन भन्छन्, ‘मेरो कुनै विदेश जाने योजना छैन। मैले सुदूरपश्चिमका कृषकलाई प्रविधिमैत्री बनाउँछु भन्ने लक्ष्य लिएको छु। त्यसैले हालसम्म हामीले विभिन्न प्रविधि समेत आविष्कार गरिसकेका छाैं।’
सुमन र उनको कम्पनीले कृषिलाई प्रविधिसँग जोड्न तथा व्यवसायिक खेती गर्न ‘स्मार्ट मोनिटरिङ सिस्टम’ को विकास गर्ने उदेश्य बोकेका छन्। जसको मद्दतले किसानले घरमा मोबाइलबाटै सबै कार्य गर्न सक्ने उनीहरु दाबी गर्छन्।
‘हामीले चल्ला कोरल्ने पोथी मेशिन(इन्क्यूबेटर) जसले कम बिजुलीमै कुखुरा, बताई, हाँस, लौकट, कालिज, अष्ट्रिज, तित्रा, टर्की जस्ता पन्छीको चल्ला निकाल्न सक्छ’ सुमनले भने, ‘यस्तै आगामी दिनमा कृषिमा प्रयोग हुने विभिन्न प्रविधि निर्माण गर्दैछौ। जस्तै कुखुराको खोरभित्र नगई बाहिरबाटै दानापानी दिन मिल्ने तथा कुखुरालाई केही समस्या आयो भने मोबाइलमा एसएमएस आउने प्रविधि, गाईभैंसी व्यवस्थापन गर्ने सिस्टम, बजारिकरणका लागि पन्छी, अन्डा र चल्ला खरिदबिक्री गर्न सकिने मोबाइल एप आदि।
साथै उनी विदेशबाट रोजगारी गरेर आएका तथा यही बसेकाहरुलाई कृषि गर्न अनुरोध गर्छन्। त्यसका लागि आफुले सिकेको विभिन्न सहज कृषि शुत्र(फर्मुला) सिकाउने सुमन प्रतिबद्धता जाहेर गर्छन्।
अहिले उनको पाथीभरा सेन्सर सोलुसन उद्योगमा २० जनाले रोजगारी पाएका छन्।