कोरोना कहरकै बीच सुदूरपश्चिमबाट मानव बेचबिखन !
धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना कहर र नेपाल भारत सीमामा गरिएको कडाइकाबीच मानव बेखबिखन लगातर भइरहेको खुलासा भएको छ।
मानव बेचबिखन रोकथाममा काम गर्दै आएको माइती नेपालले सुदूरपश्चिम सँग जोडिएको सीमा नाकाबाट दैनिक ५ जनाको उद्धार भइरहेको दाबी गरेको छ।
पछिल्लो समय कोरोना महामारीका कारण रोजगारी गुम्दा बेरोजगार युवाहरु मानव ओसारपसार जस्ता आपराधिक गतिविधिमा सक्रिय रहेको बताउँछन् माइती नेपाल धनगढीका संयोजक शिवचरण चौधरी । भारतमा काम लगाइ दिने प्रलोभन देखाएर लैजाने गरेको संयोजक चौधरीको भनाइ छ।
फेसबुक, इमो, ह्वाट्स् एयाप्, भाइबरलगायत सामाजिक सञ्जालमार्फत बालबालिका, महिला तथा युवतीहरुलाई ललाइफकाइ गरि सीमानाकाबाट भारत लगिने गरेको उनले बताए।
सामाजिक सञ्जालमार्फत प्रेममा पारेर विवाहको प्रलोभन देखाएर भारतमा लगेर बेच्ने गरिएको पनि उनी बताउँछन्।
गरिबी तथा बेरोजगारीकै कारण बढीजसो युवती, महिला तथा बालबालिकाहरु मानव बेचबिखनमा परेको बताइन्छ । चौधरीका अनुसार कञ्चनपुरको त्रिनगर सीमानाकाबाट दैनिक ४÷५ जनाको उद्धार गरेर आफन्तको जिम्मा लगाइने गरिएको छ।
तर पछिल्लो समय मानव बेचबिखनका घटनामा कमी आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंह बताउँछन्।
पछिल्लो ३ बर्षको अवधिमा सुदूरपश्चिममा ९४ वटा मानवबेचविखनका मुद्दा परेका छन्। २०७४/७५ मा ३१, २०७५/७६ मा ३८, २०७६/७७ मा १८ वटा मानव बेचविखनका मुद्दा परेका छन् ।
यस्तै चालु आर्थिक वर्ष २०७७/७८ मा ७ वटा मुद्दा परेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्याकंमा उल्लेख छ।
मानव बेचविखनमा संलग्नलाई पक्राउ गरि कानुन अनुसार कारवाही गर्ने गरेको सिंहले बताए।
मानवबेचविखन तथा ओसारपसार सम्बन्धी कसुर गर्ने व्यक्तिलाई मानव बेचविखन ओसारपसार (नियन्त्रण) ऐन २०६४ को १५ (१) को खण्ड (घ), च र ज को उपदफा ६ तथा दफा २४ मा ३ वर्षसम्म कैद तथा ३० हजारसम्मको जरिवाना हुने कानुनी व्यवस्था रहेको छ।