कैलालीमा मातृशिशु मृत्युदर बढ्दै, ३ वर्षमा २२२ आमा र शिशुको मृत्यु
धनगढीः सुदूरपश्चिमको राजधानी समेत रहेको कैलालीमा मातृशिशु मृत्युदर बढ्दै गएको छ। जिल्लाका विभिन्न स्थानीय तहमा मातृशिशु मृत्युदर बढेकोे स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।
जिल्लामा आर्थिक वर्ष २०७४/७५ देखि २०७६/७७ सम्मको ३ वर्षको अवधिमा २ सय २२ आमा र नवजात शिशुको मृत्यु भएको छ। जसमा २ महिना मुनिका शिशुको संख्या मात्रै २ सय १ छ भने २१ आमा रहेको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए।
आर्थिक वर्ष २०७४/७५मा ७१, २०७५/७६ मा ५१, २०७६/७७ मा ७० आमा र शिशुको मृत्यु भएका बेला चालु वर्षको पहिलो चौमासिकमा मात्र ३ आमा र १७ शिशुको मृत्यु भएको छ।
सो तथ्यांकलाई हेर्दा विगतमा वर्षहरुमा भन्दा मातृशिशु मृत्युदर बृद्धि हुदै गएको देखिएकोमा चालु वर्षमा अझ बढ्ने अनुमान गरिएको धामी बताउँछन्।
मातृशिशु मृत्युदर घटनाउन स्वास्थ्य कार्यालयले समेत वर्षेनी जनचेतना मुलक कार्यक्रमको आयोजना गर्दै आएको छ।
अहिले त स्थानीय तहमा गठित स्वास्थ्य शाखाहरुले समेत जनचेतनामुलक कार्यक्रमको नाममा ठुलो बजेट खर्च गर्ने गरेका छन्।
तर मातृशिशु मृत्युदर कम हुनुको सट्टा झन झन बृद्धि हुदै गएको स्वयमं ती अधिकारीहरुको भनाई छ।
‘गर्भावस्थामा गरिने लापरवाही, स्वास्थ्य संस्था र अस्पतालहरुको लापरवाही नै मातृशिशु मृत्युदरको प्रमुख कारण हो।’ स्वास्थ्य कार्यालयका निमित्त प्रमुख धामी भन्छन्।
चिकित्सकहरुको भनाईमा समेत घरपरिवारमा उचित स्याहार सुसार र हेरविचार नगरिनु र अस्पतालमा गरिने लापरवाही नै मातृशिशु मृत्युदर बढिरहेको छ। सेती प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरीटेन्टेन्ट समेत रहेका डाक्टर गणेश बहादुर सिंहले सरकारले प्रदान गरेको सेवाको समेत उपयोग गर्न नसक्दा मातृशिशु मृत्युदर नघटेको बताए।
उनले प्रसुतिका लागि महिलालाई समयमै स्वास्थ्य संस्था नपुगाउन र अस्पतालहरुमा पनि हुने लापरवाहीले मातृशिशु मृत्युदर बढिरहेको पाईएको बताए।
मातृ शिशु मृत्युदर कम गर्न तथा हुनै नदिन गर्भावस्थामा आमा र शिशुको स्वास्थ्यको ख्याल गर्ने, नियमित स्वास्थ्य परीक्षण गराउने, समयमै स्वास्थ्य संस्था जाने, प्रसुती हुनु पूर्व गर्नुपर्ने सबै तयारी गर्नुपर्ने र सरकारले दिएको सेवा सुविधालाई उपयोग गर्नुपर्ने सुझाव पनि डाक्टर सिंहको छ।
यसवर्ष कोरोना संक्रमणको जोखिमले धेरै आमाहरु अन्तिम अवस्थामा मात्र अस्पताल आउने गरेकाले मातृ शिशु मृत्युदर थप बढ्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।