सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय फूल आयात नभएपछि कैलालीका पुुष्प व्यवसायी उत्साहित

२०७७ कार्तिक २९, ०९:०२ रोशन भट्ट

धनगढी : सुदूरपश्चिममा कोरोना भाइरसको प्रभावका कारण प्रायः सबै क्षेत्र धरासयी बनेका बेला पुष्पखेती गर्ने किसानहरु भने निकै उत्साहित भएका छन् ।

कोरोना कहरले भारतबाट हुने फूलको आयात रोकिएपछि यहाँका किसान राम्रो बजार पाएका छन् । उनीहरुलाई यसपालिको तिहारमा बजार माग पूर्ति गर्न भ्याइनभ्याइ भएको हो । तिहारमा सवैभन्दा बढी फूल खपत हुने हुँदा स्थानीय किसानहरु हाल सुपारी र सयपत्री फूल टिप्न, माला उन्नेलगायत कार्यमा व्यस्त भएको बताएका छन् ।

कैलालीको टीकापुर नगरपालिका–१ वनगाउँका सीताराम चौधरीले विगतदेखि नै पुष्पखेती गर्दै आएका छन् । यो सिजनमा फूलवारीमा ढपक्क फूलेका फूलहरुलाई टिप्नु, साइज अनुसार ग्रेडिङ गर्नु र माला उन्ने काम नौलो भने होइन् । तर गएका वर्षहरुमा माला बिक्री हुदैन कि भन्ने चिन्ताले सताउने सीतारामलाई यस वर्ष भने समयले ठीक उल्टो चिन्ताले सताउन थालेको छ ।

गत वर्षको तिहारमा मात्रै २ हजार माला बिक्री गरेका चौधरीले यस वर्ष ३ हजार माला बजारमा उपलब्ध गराउने योजना बनाएका छन् । कोरोना प्रभावले गर्दा भारतबाट माला आयात नभएपछि स्थानीय उत्पादनले राम्रो बजार पाउन थालेको सीताराम बताउँछन् । 
कैलालीकै बर्दगोरिया गाउँपालिकाका पुष्पखेती थालेका अर्का किसान नविन जोशीलाई पनि यस वर्षको तिहारमा भ्याइनभ्याइ छ ।

झण्डै २ लाख ५० हजार भन्दा बढीका माला बिक्री गर्ने योजना उनको पनि छ । कोरोना प्रभावका कारण पनि तिहारमा फूल–मालाको माग अत्याधिक बढेको जोशी बताउँछन् । सुदूरपश्चिममा व्यावसायिक फूल खेती किसानको संख्या पनि निकै कम भएको उनीहरुलाई बढ्दो माग धान्न धौ–धो भएको छ । 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस