कैलाली कञ्चनपुरमा देउसी–भैलीमा रोक, सुरक्षाका साथ तिहार मनाउन आग्रह
धनगढी : कोरोना संक्रमणको दर बढ्दै गएपछि कैलाली कञ्चनपुरमा तिहारमा समेत भिडभाड गर्न नपाइने भएको छ ।
चाडपर्वको समयमा हुने बढी आवातजावातले संक्रमण फैलिने हुँदा स्थानीय प्रशासनले घरभित्रै सुरक्षित भएर पर्व मनाउन आग्रह गरेको छ । तिहारमा आयोजना हुने देउसी–भैलीलगायतका कार्यक्रममा समेत कैलाली कञ्चनपुरका स्थानीय प्रशासनले गर्नमा रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले गौरा, छठ, दशैंलगायत पर्वमा जसरी सुरक्षा सतर्कता अप्नाइएको थियो, त्यसरी नै सुरक्षाका मापदण्ड साथ तिहार मनाउन आग्रह गरेको बताए । तिहारमा पनि प्रमुख जिल्ला अधिकारीको आदेशलाई निरन्तरता दिइने बताउँदै सूचना अधिकारी जोशी देउसी भैलीको कार्यक्रम गर्न रोक लगाएको जानकारी दिए ।
कञ्चनपुर जिल्लामा पनि दशैंमा जारी गरिएको आदेशलाई निरन्तरता दिइने भएको छ । दिदीभाईको पर्वका रुपमा मनाइने तिहारमा देउसी–भैलो खेल्ने, साथी भाईबीच जमघट हुने, मेलाको आयोजना गर्नेलगायतका क्रियाकलापहरु नगर्न कञ्चनपुर प्रशासनले अनुरोध गरेको छ । त्यस्तै पटाका पट्काउने कार्यमा पनि बन्देज लगाइएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बितेका पर्वमा जस्तै तिहारमा पनि सो आदेशलाई निरन्तरता दिने दिनेशखबरलाई जानकारी दिए । तिहार नजिकीए संगै चहलपहल बढेको छ । नेपाल भारत सीमावर्ती बजारमा नेपाली र भारतीयहरुको लुकीछुपी प्रवेश पनि बढेको छ । जसले संक्रमणको दरलाई बढाउने प्रशासनको भनाइ छ । जसप्रति आमनागरिक सचेत हुन पनि जरुरी रहेको स्थानीय प्रशासनको आग्रह छ ।