धनगढीको सुपथ मूल्य पसलमा विहानैदेखि सेवाग्राहीको घुँइचो, व्यवस्थापनमा उदासिनता
धनगढी : मंगलबार विहान १० बजे धनगढीको सुपथ मूल्य पसलमा पुग्दा सेवाग्राहीको लाइन निकै लामो थियो ।
धनगढीका विभिन्न स्थानबाट चिनी र नून खरिद गर्नका लागि साल्ट ट्रेडिङ कार्पोरेसन धनगढीले स्थापना गरेको सुपथ मूल्य पसलमा सयौं नगरवासीहरु विहानैदेखि लाइनमा थिए ।
सोही लाइनमा भेटिए धनगढी उप–महानगरपालिकाका वडा नम्बर ५ जाईका स्थानीय बलहादुर चन्द । ‘चिनी र नून किन्नको लागि पनि सास्ती खेप्नु पर्ने बाध्यता छ,’ उनले भने, ‘म पनि विहान ८ बजेदेखि लाइनमा छु ।, साढे १० बजे मात्रै पालो आयो ।’
दशैं तिहार र छठलाई लक्षित गर्दै साल्ट टे«डिङ कार्पोरेसनले संञ्चालन गरेको सुपथ मूल्य पसलमा धनगढी उप–महानगरपालिका वडा नम्बर ४ स्थानीय मोहन कुँवर पनि भेटिए । बजारको भन्दा केही सस्तोमा चिनी र नून पाइने भएका कारण लाइनमा लागेको उनले बताए ।
‘कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला बाध्यताले लाइन लाग्नु परेको छ,’ उनले भने, ‘सबैलाई छिटो चाहिन्छ । सामाजिक दूरी समेत कायम नगरी सेवाग्राही लाइनमा छन् ।’ साल्ट टे«डिङले उचित व्यवस्थापन गर्न नसकेको उनको गुनासो छ ।
धनगढीमा एक मात्र सुपथ मूल्य पसल सञ्चालन हुँदा घुँइचो हुने गरेको छ । साल्ट टे«डिङले आफ्नै कार्यालय अगाडी स्थापना गरेको सुपथ मूल्य पसलबाट चिनी, नून, चामल, साबुन, सेनिटाइजरलगायतका सामग्रीहरु बिक्री वितरण गर्दै आएको छ ।
चिनीको मूल्य प्रति किलो ७० रुपैयाँ छ भने, नून १८ रुपैयाँमा उपलब्ध भैरहेको छ । अन्य सामग्रीको मूल्य पनि बजारको भन्दा केही कम छ । सोही कारण नगरवासीहरु सुपथ मूल्य पसलमा विहानैदेखि लाइनमा बस्दै आएका छन् ।
धनगढीमा स्थापना गरिएको सुपथ मुल्य पसल मंसिर ६ गतेसम्म सञ्चालनमा आउने साल्ट टे«डिङ कार्पोसनका प्रमुख केशव पाण्डयले बताए ।
‘सेवाग्राहीको भीड विहानैदेखि लाग्ने गरेको छ, भौतिक दूरी कायम गर्न हामीले पनि अनुरोध गर्दैछौं,’ उनले भने, ‘हामीले जिल्ला प्रशासनलाई पनि आग्रह गरेका छौं, प्रहरी परिचालन गरिदिनु प¥यो भनेर ।’
कोरोना संक्रमण फैलिएका बेला एक मात्र सुपथ मूल्य पसल सञ्चालन हुँदा समस्या भएको गुनासो सेवाग्राहीको छ । भीड व्यवस्थापनका लागि पनि अन्य विकल्पहरु खोज्नु पर्ने आवश्यक रहेको छ ।