सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैंको टीका नसकिदै रोजगारीको लागि भारततिरै नेपाली

२०७७ कार्तिक १४, ११:०५ रोशन भट्ट

धनगढी : बिहिबार विहान साढे ११ बजेतिर कञ्चनपुरको त्रिनगर–गौरीफन्टा नाका पुग्दा भारत प्रवेश गर्नेहरुको लाईन निकै लामो थियो ।

केही दिन अगाडीसम्म भने दशैं मनाउनका लागि स्वदेश फर्किनेहरुको संख्या पनि धेरै थियो ।

नेपालीहरुको महान चाड दशैंको रौनक परै जाओस् टीका समेत नसकिदै रोजगारीका लागि भारत पस्नेहरु त्रिनगर–गौरीफन्टा नाकामा तछाड–मछाड गरिरहेका थिए ।

सोही लाइनमा कैलालीको मोहन्यालका शिवराज गौतम पनि भेटिए । उमेर २१ वर्ष मात्र पुगेका गौतमलाई रोजगारीको लागि भारत जान लागेको ६ वर्ष पूरा भइसकेको छ ।

‘घर परिवार संगै दशैं मनाउनका लागि स्वदेश फर्किएको थिए,’ उनले भने, ‘घर खर्च चलाउनकै लागि दशैंको टीका नसकिदै रोजगारीको लागि भारत जादैछु ।’

बिहिबार मात्रै गौतम संगै सयौं सुदूरपशिचमेलीहरु भारत जानको लागि लाइनमा उभिएका थिए । अछामको मंगलसैन नगरपालिकाका स्थानीय रुपबहादुर रावल पनि त्रिनगर–गौरीफन्टा नाका भएर भारत पस्नको लागि लाइनमा थिए ।

‘कोरोनाको प्रभावपछि रोजगारी गुमेपछि घर फर्किएको थिए,’ उनले भने, ‘पुनः अन्य कामको खोजीमा नै भारत जान लागेको हुँ ।’

स्थानीय स्तरमा रोजगारीका अवसरहरु प्रर्याप्त नहुँदा चाडपर्व नसकिदै भारत पस्नु परेको दुखेसो उनको छ । देशमा तीन तहको सरकार भए पनि आम सर्वसाधारणको समस्या कसैले पनि नबुझेको प्रतिक्रिया भारत जानेहरुले दिएका छन् । 

कोरोनाको त्रास संगै प्रभावका कारण स्वदेश फर्किएकाहरु घरमा बस्दा घर खर्च चलाउनै मुस्किल भएपछि पुनः मुगलान गइरहेका हुन् । सुदूरपश्चिमका २ नाका गड्डाचौकी र त्रिनगर–गौरीफन्टा भएर मात्रै दैनिक १ हजार भन्दा बढी मानिस भारत पसिरहेका छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार दशैंको टीका नसकिदै कार्तिक १२ गते मात्र त्रिनगर–गौरीफन्टा नाका भएर ७ सय बढी नेपाली भारत गएका छन् भने गड्डाचौकी नाका भएर कार्तिक १२ गते १७० जना भारत प्रवेश गरेका छन् ।

दुबै नाकाको अवस्था हेर्दा कार्तिक १३ गते पनि सोही संख्यामा मुगलान गएका छन् । दशैंको टीका नसकिदै भारत जानको संख्यामा बृद्धि भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।

‘कञ्चनपुरका २ नाका भएर भारत जानेहरु रोजगारीकै लागि गईरहेका छन्’ उनले भने । 

दशैंको टीका नसकिदै भारत पस्नेहरु मध्य कतिपय वर्षौदेखि उतै रोजगारीमा भएकाहरु भए पनि अधिकांश भने नयाँ रोजगारीकै लागि गइरहेका छन् । स्थानीय र प्रदेश सरकारले रोजगारीका अवसरहरु सिर्जना गर्दै भारत पस्नेहरुको संख्या घटाउने दावी गर्दै आएपनि आम नागरिकको समस्याप्रति गम्भीर नबनेको आरोप लाग्ने गरेको छ । 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस