कर्मथलोमै सुरक्षाकर्मीले मनाए दशैं
धनगढी : नागरिकको सुरक्षामा खटिने सुरक्षाकर्मीले कर्मथलोमै दशैं मनाएका छन् । कोरोना कहरले आमनागरिकहरु आ–आफ्नै स्थानमा दशैं मनाए पनि नागरिकको सुरक्षार्थ खटिने सुरक्षाकर्मीले भने कर्मथलोमै दशैं मनाएका हुन् ।
कोरोना महामारीले विगतमा जस्तो दशैंको उत्साह नभए पनि धेरै नागरिक दशैं मनाउन आ–आफ्नो घर फर्किएपछि गाउँमा भने चलहपहल पनि बढेको छ । तर सुरक्षाकर्मीले भने कर्मथलोमै संस्कृतिको जर्गेना गर्दै कोरोनाबाट सुरक्षित भएर दशैं मनाएको प्रतिक्रिया दिएका छन् ।
विगतमा प्रहरी युनिटभित्रै सिनियर कर्मचारीले जुनियरलाई टीका जमरा लगाउने गरेका थिए । दशैंमा जन्मघर जान नपाए पनि साइत जुराएर टीका लगाउने मिठोमलिनो खानेलगायतका अन्य कार्यक्रमको आयोजना हुने गरेको थियो । दशैंमा घर जान नपाए पनि नागरिकको सुरक्षामा खटिने प्रहरी कर्मचारीहरु कर्मथलोमै रमाइलो गर्थे ।
तर यस वर्ष भने कोरोना महामारीको त्रासका बीच नागरिकको सुरक्षा गर्दै सुरक्षित भएर सामान्य रुपमा दशैं मनाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए । ‘चाडपर्वको समयमा हाम्रो जिम्मेवारी थप हुन्छ,’ उनले भने, ‘दशैंमा घर जान नपाए पनि नागरिकको सुरक्षा गर्दै छौं ।’
नागरिक आफन्त तथा परिवारका सदस्य संग रमाइलो मानेर पर्व मानिरहेका बेला प्रहरी भने उनीहरुकै सुरक्षार्थ खटिएका हुन्छन् । अघिपछि भन्दा दशैको समयमा बढी आपराधिक गतिविधि हुने भएकाले प्रहरी पनि बढी परिचालन गर्नु पर्ने भएकाले धेरै प्रहरीहरु विदा पाउदैनन् ।
सबै नागरिकले दसैँ रमाइलो सँग मनाए जस्तै प्रहरीलाई पनि त्यसै गरी मनाउने रहर त हुन्छ, तर दशैँमा अपराध बढी हुने भएकाले धेरै प्रहरीको दशैँ ब्यारेकमै वित्ने गरेको छ । यस वर्ष भने कोरोना भाईरसको संक्रमणले प्रहरीको दशैंलाई पनि खल्लो बनाएको छ ।
‘कोरोना संक्रमणका कारण विगतका जस्तो नभएपनि सामान्य रुपमा यसपालिको दशैं पनि मनाएका छौं,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने, ‘हाम्रो पहिलो प्रथमिकता भनेकै नागरिकको सुरक्षा गर्नु हो ।’
घर जान नपाएका प्रहरीले खटिएकै स्थान तथा व्यारेकलाई आफ्नो घर सम्झेर दसैँ मनाएका हुन् । दशैंको संस्कृति जर्गेना गर्नका लागि विधीअनुसार नै पूजाआजा गरिएको भएपनि खासै रौनक भने देखिएको छैन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भने, ‘नागरिकको सुरक्षा संगै सुरक्षित रुपमा सिमित व्यक्तिहरु भेला भई यसवर्ष दशैं मनाएका छौं ।’
यसैबीच पत्रपत्रिका बन्द भए पनि विद्युतीय सञ्चार माध्यम रेडियो, टेलिभिजन र अनलाइनमामा कार्यरत पत्रकारहरुको दशैँ पनि कार्यथलोमै वितेको छ ।
कोरोना भाइरसको जोखिमकै बीच सुरक्षित भएर कर्मथलोमा दशैँ मनाउने सबै हिन्दु नेपालीहरुलाई हाम्रो पनि शुभकामना ।