सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको सुरक्षा व्यवस्था कडा, ढुक्क भएर दशैँ मनाउन आग्रह

२०७७ कार्तिक १०, ०१:२८ रोशन भट्ट

धनगढीः दशैँमा हुनसक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न कैलालीको सुरक्षा व्यवस्था कडा पारिएको दावी गरिएको छ । चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएको कैलाली प्रहरीले अपराधिक गतिविधि नियन्त्रणका लागि सुरक्षा व्यवस्थालाई थप मजबुत बनाईएको दावी गरेको हो । सामान्य समयको भन्दा नियमित गस्ती बढाईएको र सुरक्षाका दृष्टिकोणले संवेदनसिल मानिएका क्षेत्रमा सादा पोशाखमा समेत छुट्टाछुट्टै प्रहरी टोली परिचालन गरिएको छ।

नियमति गस्ती, साईकल गस्ती लगायतका टोलीले समेत निगरानी बढाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । ‘सामन्य समयको भन्दा दशैंमा सुरक्षा व्यवस्था कडा परिएको छ,’ उनले भने, ‘यो अवधिमा हुन सक्ने अपराध नियन्त्रणमा प्रहरी सक्रिय छ, ढुक्कसँग दशैं मनाउन जिल्लाबासीलाई आग्रह गर्दछु ।’

भारतसँग सीमा जोडिएका क्षेत्रमा दशैँका बेला अपराधिक गतिविधि बढि हुने भएकाले पनि गस्ती तथा पेट्रोलिङ पनि बढाईएको प्रहरीले जनाएको छ । दशैँलाई मध्यनजर गरेर बजार क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि सक्रियता बढाईएको छ । खासगरी यो बेला हुने चोरी तस्करीका घटना बढि हुने भएकाले स्वयंम नागरिकले समेत व्यक्तिगत धन सम्पत्तीको सुरक्षामा विशेष ध्यान दिन प्रहरी नायब उपरीक्षक विष्टले आग्रह गरे ।

यता, ट्राफिक प्रहरीले समेत सार्वजनिक सवारी साधनमा हुने आवागमनलाई सहज बनाउन विशेष रुपमा खटिएको दावी गरेको छ । बढिजसो विभिन्न कारणले अलपत्र पर्ने यात्रुहरुको उद्दार गर्ने, कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालन भए÷नभएको विषयमा निगरानी गर्ने, क्षमता भन्दा बढि यात्रु बोक्ने सवारीलाई कारवाहीको दायरामा ल्याईने सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक बामदेव गौतमले बताए ।

‘चाडपर्वका बेला सडक खाली हुने गरेका कारण तीव्र गतीमा सवारी हाक्नाले दुर्घटना हुने गरेका छन्,’ उनले भने, ‘रमाईलोको नाममा मापसे सेवन गरेर पनि सवारी चलाउँदा दुर्घटना हुने गरेका छन् त्यस तर्फ पनि हामीले विशेष जोड दिएका छौँ ।’ तर दशैँ तिहारमा हुनसक्ने सम्भावित घटना हुन नदिन तथा अपराधीक गतिविधि नियन्त्रणमा सघाउन समेत प्रहरीले आम नागरिकमा अपिल गरेको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस