धनगढीमा ३ महिनादेखि पार्किङ स्थलको भाडा तिर्दै निगम, ट्याङकरको सडकमै रजाई
धनगढीः नेपाल आयल निगम धनगढीले ट्याङकरका लागि भन्दै गत साउनदेखि जग्गा भाडामा लिएको छ।
बोराडाँडी क्षेत्रमा मासिक प्रति कठ्ठा दुई हजार पाँच सयका दरले भाडा तिर्ने गरी १० वर्षका लागि सम्झौता गरिएको निगमले जनाएको छ। निगमले साउनदेखि नै मासिक २० हजारका दरले भाडा तिरिरहेको छ।
जस अनुसार निगमले पार्किङ स्थलको वार्षिक भाडा मात्र दुई लाख ४० हजार तिर्ने सम्झौतामा उल्लेख छ। तीन महिनादेखि पार्किङ स्थलको भाडा तिरिरहेको निगमले निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडकबाट ट्याङकर नसार्दा दुर्घटनाको जोखिम बढेको छ।
तर सडक नै कब्जा हुने गरी पार्किङ गरिएका ट्याङकर व्यवस्थापन गर्न वेवास्ता गरिएको छ। यसअघि जग्गा नै नपाउने गरेको दावी गर्दै आएको आयल निगम अहिले पार्किङ स्थलको भाडा तिरिरहेपनि सडकबाछ ट्याङकर भने नहटाएको हो।
तर नेपाल आयाल निगम प्रादेशिक कार्यालय धनगढीका प्रमुख जितरन्जन दास भने पार्किङ स्थल पूर्ण रुपमा बनिनसकेकाले तत्काल सार्न नसकिएको दावी गर्छन्। उनले साउनमा वर्षाका कारण सडकबाट पार्किङ स्थलमा ट्याङकर सार्न नसकेको दावी बताउँदै पार्किङ स्थलको निर्माण काम समेत पूर्ण नभएकोले केही ढिलाई भएको जनाए।
अहिले ग्रावेल हालेर लेवल मिलाउने काम अन्तिम चरणमा रहेकाले छिट्टै सडक क्षेत्रबाट ट्याङकर हटाईने दासले जानकारी दिए। ६ लेन सडकलाई ट्याङकरको पार्किङ स्थल बनाउँदा दुर्घटना जोखिम मात्रै बढेको छैन की सडक क्षेत्र समेत कुरुप बनेको छ।
ट्राफिक प्रहरीले समेत टुयाङकरका कारण दुर्घटनाको जोखिम बढेको स्वीकार्दै आएपनि हटाउन वेवास्ता गर्दै गर्ने गरेको छ। प्रहरीले व्यवसायीहरुबाट हप्ता समेत उठाउने गरेको अरोप लाग्दै आएको छ।
सुदूरपश्चिम प्रदेश ट्रफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले भने दुई दिन भित्र सडक क्षेत्रका ट्याङकर अन्यत्र व्यवस्थापन गर्न निर्देशन दिएको बताए।
उनले आयल निगम र व्यवसायीलाई दुई दिन भित्र ट्याङकरको व्यवस्थापन गर्न निर्देशन दिएको बताएका हुन्।
६ लेन सडकमा पार्किङ गरिएका ट्याङकरको अन्यत्र व्यवस्थापन भए चटकपुर क्षेत्रमा दुर्घटनाको जोखिम न्युनीकरण हुने विश्वास समेत स्थानीयको छ।