सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकामा सास्तीको भय,कञ्चनपुर प्रशासन भन्छ–दुःख दिनेलाई कारवाही गछौँ

२०७७ असोज २५, १२:४१ रोशन भट्ट

धनगढीः सुदूरपश्चिमका सीमानाकामा चाडपर्वका बेला हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना लागु गरिएको छ।

सुदूरपश्चिमको प्रमुख व्यापारिक शहर धनगढीसँग जोडिएको गौरीफन्टा सीमा नाका, गड्डाचौकी लगायतका सीमा क्षेत्रमा नजिकिदै गरेको दशैँतिहारको समयमा हुनसक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागु गरिएको हो।

कैलालीसँग जोडिएको प्रमुख व्यापारिक नाका गौरीफन्टाको सुरक्षाको जिम्मा समेत लिएको कञ्चनपुरको प्रहरी प्रशासनले  अपराधिक गतिविधि नियन्त्रणका लागि विशेष सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले बताए।

‘चाडपर्वको समयमा हुने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न विषेश योजना बनाएका छौँ,’ उनले भने, ‘यस वर्ष कोरोनाको प्रभावका कारणले पनि अपराध नियन्त्रण गर्न सहज हुन्छ।’ तर विगतमा कैलाली प्रशासनले व्यवस्थापन गर्दै आएको गौरीफन्टा नाकाको सुरक्षाको जिमेवारी अहिले कञ्चनपुर प्रशासनले लिईसकेको छ।

प्रदेशकै मुख्य गौरीफन्टा र गड्डचौकी नाकाको सुरक्षालाई ध्यानमा राख्दै सीमामा गस्ती बढाउने, सादा पोशाकमा प्रहरी परिचालन गरिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए।

‘थप सुरक्षाकर्मी समेत परिचालन गर्नका साथै सीमामा  सशस्त्र प्ररहीको विओपी समेत आवश्यकता अनुसार थप्ने तयारी भईरहेको छ,’ उनले भने। तर गत विगतका वर्षमा चाडपर्वका बेला सीमानाकामा हुने अपराधिक गतिविधी तथा भारतीय एसएसबीले सास्ती दिए कैलालीका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकाय प्रमुख तत्कालै वार्ताका लागि पुग्ने गरेका थिए भने सीमानाकाको छड्के अनुगमन पनि हुदै आएको थियो।

अहिले कुनै घटना वा सीमामा असमझदारी उत्पन्न भए दुरीका हिसाबले कञ्चनपुरका सुरक्षा निकायका प्रमुख तत्कालै नाकामा उपस्थित हुन सक्ने अवस्था छैन्। त्यस कारण सीमानाका अव्यस्थित भई नेपालीले झन्जट व्यहोर्नुपर्ने आशंका समेत उत्पन्न हुन थालेका छन्।

तर कञ्चपुर प्रशासनले भने कुनै पनि बाहानामा सीमामा सास्ती दिने, अपराधिक गतिविधिमा संलग्न हुने जोसुकैलाई पनि कारवाहीको दायरामा ल्याउने जनाएको छ।

मुख्य सीमानाका मात्र नभएर चोरी नाकामा समेत हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर सुरक्षा सर्तकता बढाईएको दावी गरिएको छ।

तर चाडपर्वका बेला सीमामा नेपाली सुरक्षाकर्मीहरुले नै सास्ती दिने समस्या कायमै रहेका गुनासा समेत बढ्दै गएकाले त्यसतर्फ समेत सुरक्षा अंगका प्रमुखले विशेष निगरानी गर्नुपर्ने सुझाव दिईएको छ।
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस