गेटा मेडिकल कलेजको निर्माण अन्तिम चरणमा, सञ्चालनको ‘मोडालिटी’ बारे अन्यौलता
धनगढी– कैलालीमा निर्माणधिन गेटा मेडिकल कलेजको भौतीक प्रगती ७५ प्रतिशत पुगेको छ। मेडिकल शिक्षा र स्वास्थ्यमा सुदूरपश्चिमवासीको पहुँच सहज बनाउनका लागि कैलालीको गेटामा निर्माण सुरु गरिएको मेडिकल कलेजको भौतिक प्रगती ७५ प्रतिशत पुगेको हो।
५ सय शैयाको अस्पताल र कलेज संञ्चालन गर्ने गरि निर्माण भईरहेको मेडिकल कलेजको प्रारुपबारे कुनै पनि निर्णय नभएको गेटा मेडिकल कलेजका कार्यकारी निर्देशक भीमबहादुर साउदले बताए।
‘यसै वर्षदेखि अस्पताल संञ्चालन गर्ने गरी संरचना निर्माणको कामलाई तिब्रता दिईएको छ,’ उनले भने, ‘अन्य आवश्यक संरचना निर्माणको काम पनि तिव्र गतीमा भईरहेको छ।’
गत फागुनमै मेडिकल कलेज संञ्चालनको विषयमा तयार परिएको विधेयक मन्त्रीपरिषद्मा पेश भएको उनले बताए। ‘देशभरीका निर्माणाधिन मेडिकल कलेजको एउटै प्रतिष्ठान बनाएर संञ्चालन गर्नु पर्ने प्रस्ताव पेश गरिएको छ,’ उनले भने।
गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा संञ्चालन गर्नुमा धेरैको जोड छ। लामो संघर्षपछि पूर्वाधार निर्माण तिव्र गतिमा भईरहेका बेला सञ्चालनको मोडालीटीका विषयमा चर्चा सुरु भएसंगै मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्नेमा जोड दिइएको हो।
गेटा मेडिकल कलेज पुर्वाधार विकास समितिका पूर्व कार्यकारी निर्देशक डाक्टर भीमसिंह टिंकरी पनि स्वास्थ्य विज्ञान प्रतिष्ठान नै उपयुक्त हुने बताउँदै आएका छन्।
‘मेडिकल कलेज नै भए अस्पताल सञ्चालन भएको तीन बर्षपछि मात्रै कलेजको पढाई सुरु गर्न पाईने मापदण्ड रहेको छ,’ दिनेश खवरसंग उनले भनेका थिए, ‘मेडिकल कलेज भए अन्य विश्व विद्यालयको सम्वन्धन लिनुपर्ने बाध्यकारी नियम छ। तर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन भए कलेज र अस्पताल संगै सुरु गर्न सकिने र आफैमा स्वायत्त हुने भएकाले सुदूरपश्चिमका लागि उपयुक्त हुने छ।’
मेडिकल कलेज भए परनिर्भर हुनपर्ने देखिएकोले स्वास्थ्य विज्ञान प्रतिष्ठान भए कुनै पनि निर्णय गर्न कसैको भर पर्नुपर्ने अवस्था नरहने विज्ञहरुले बताएका छन्। अर्काको सम्बन्धन लिएर मेडिकल कलेज चलाउँदास–सना निर्णयका लागि पनि अर्काको भर पर्नुपर्ने बाध्यता आउनेछ।