कैलालीमा निषेधाज्ञा जारी भएपछि उत्पादन बारीमै कुहिने चिन्तामा तरकारी किसान
धनगढीः कैलालीमा एक सय २० दिन सम्म चलेको लकडाउनपछि निषेधाज्ञा जारी भएपछि तरकारी किसानहरु चिन्तित भएका छन्। निषेधाज्ञाका कारण सहज रुपमा आवातजावात गर्न नसकिने र तरकारीको माग पनि घट्ने भन्दै किसानहरु चिन्तित भएका हुन्।
अघिल्लो पटक संघीय सरकारले घोषणा गरेको लकडाउनका कारण ठुलो क्षति व्यहोरेका किसानहरुलाई अहिलेको निषेधाज्ञाले स्थानीय उत्पादन बजार सम्म पुगाउन पनि मुस्कील हुने चिन्ता छ। कैलालीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बीहिबार राती १२ बजेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
यस अवधीमा किसानलाई कृषि उपज बजारसम्म पुगाउन समस्या हुने देखिएको छ। स्थानीय बजार नै बन्द हुने भएकाले उत्पादनलाई बजारीकरण गर्न नसकिने भएका कारण तरकारी किसान चिन्तित भएको धनगढीको त्रिनगर हाट बजारका अध्यक्ष भवानसिंह चैसिरले बताए।
‘अहिले स्थानीय उत्पादन पनि कमै छ’, उनले भने, ‘निषेधाज्ञा लम्बीदै गएपछि तरकारी किसानलाई समस्या हुन्छ।’ अघिल्लो पटक संघीय सरकारले घोषणा गरेको लकडाउनका कारण कैलालीका किसानहरुले लाखौं क्षती व्यहोर्नु परेको थियो। त्यसकै प्रभावका कारण आधा भन्दा बढी किसानले तरकारी लगाउन छोडेको दावी गरिएको छ। केही किसानहरुले त तरकारी उखेलेर धान रोपेको अत्तरिया कृषि उपज थोक बजार समितिका अध्यक्ष नन्दलाल भट्टले बताए।
‘अहिले तरकारी खेतीमै लागेका किसानहरु पनि बीहिवार रातीदेखि जारी भएको निषेधाज्ञाका कारण स्थानीय बजार बन्द हुने भएपछि तरकारी बिक्री गर्न नपाउने चिन्तामा छन्’ उनले भने, ‘विषेश गरी सुदूर पहाडका किसान निषेधाज्ञाको बढी मारमा परिरहेका छन्।’
पहाडबाट तराई बिक्री गर्न ल्याउँदा प्रहरी प्रशासनले पनि सहज रुपमा आउन दिने गरेको छ। तर फर्किदा भने तरकारी नहुने भएकाले सास्ती भोग्नु परेको गुनासो किसानहरुको छ।
यता जिल्ला प्रशासन कार्यालय कैलालीले भने किसानलाई आवातजवात गर्न समस्या नहुने दावी गरेको छ। जिल्ला प्रशासन कार्यालय कैलाली सूचना अधिकारी शिवराज जोशीले यसमा स्थानीय सरकारले किसानलाई सहयोग गर्नुपर्ने बताए।
‘स्थानीय उत्पादनलाई संकलन गरी बजारमा पुगाउने जिम्मा स्थानीय तहले लिनुपर्छ’, उनले भने, ‘अन्य प्रशासनबाट हुने सहयोग हामी गछौं।’