कैलालीका केही विकासे कार्यालयको प्रगती उत्साहजनक
धनगढी : कैलालीमा कोरोना प्रभावपछि जारी गरिएको लकडाउनमा पनि कतिपय विकासे अड्डाहरुको खर्च प्रगती उत्साहजनक भएको पाईएको छ। गत आर्थिक वर्ष २०७६/०७७ मा कैलालीका अधिकासं विकासे अड्डाहरुले काम गर्न नसकेका बेला कतिपय योजनाहरुको खर्च प्रगती भने ९० प्रतिशत भन्दा बढी देखिएको छ।
८ अर्ब ९७ करोड विकास बजेट खर्च गर्नुपर्ने जिम्मेवारी पाएका कैलालीका विकासे अड्डाहरुले ५५ प्रतिशत अर्थात चार अर्ब ९५ करोड बजेट मात्रै खर्च गरेका थिए। सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढीले भने गत आर्थिक वर्ष ९६ प्रतिशत विकास बजेट खर्च भएको छ।
एक अर्ब सात करोड बढी विकास बजेट खर्च गर्ने जिम्मेवारी पाएको उक्त आयोजना कार्यालयले एक अर्ब तीन करोड बढी खर्च गर्न सफल भएको छ। सडक पूर्वाधार लगायतका अन्य भौतिक संरचना निर्माण गरिरहेको संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढीलाई लकडाउनले धेरै असर नगरेको देखिएको छ।
आयोजना प्रमुख परिक्षित कडरियाले कोरोना प्रभावका बीचपनि काम जारी राखेका कारण प्रगती राम्रो भएको बताए। कैलालीमा हुलाकी सडकको पनि गत वर्षको खर्च प्रगती उत्साहजनक देखिएको छ। हुलाकी सडकको कैलालीमा खण्डमा गत वर्ष ३५ करोड विकास बजेट खर्च गर्नुपर्ने भएकोमा त्यसको ९५ प्रतिशत अर्थात ३३ करोड भन्दा बढी विकास बजेट खर्च भएको छ।
आर्थिक वर्ष भित्र खर्च गर्न सकिने बजेट अनुमान गरी बाँकी बजेट हुलाकी सडककै अन्य खण्डमा पठाएका कारण प्रगती राम्रो देएिको हो। ‘कोरोना प्रभावकै बीचपनि हुलाकी सडकको कैलालीमा खण्डमा काम जारी रहेको थियो’ हुलाकी सडक आयोजना कार्यालयका सूचना अधिकारी पदमबहादुर मडैले भने, ‘कैलाली खण्डमा राम्रो काम भएको थियो, कञ्चनपुरमा भने उत्साहजनक काम गर्न सकिएन्।’
जिल्लामा संञ्चालित अधिकासं विकास निर्माणका आयोजनाले गत चैत ११ गतेदेखि जारी लकडाउनका कारण काम गर्न नसकिएको दावी गरेका बेला कतिपय योजनाहरुको खर्च प्रगती भने उत्साहजनक भएको हो। कैलालीमा सबैभन्दा बढि विकास बजेट भने रानीजमरा कुलरिया सिचाई आयोजनाको थियो। उक्त आयोजनाको प्रगती भने निराशाजनक छ।
गत आर्थिक वर्ष दुई अर्ब ७२ करोड ६२ लाख ७१ हजार खर्च गर्ने जिम्मेवारी पाएको थियो। तर पँुजिगत बजेटको ५७ प्रतिशत अर्थात एक अर्ब ५६ करोड ३९ लाख १६ हजार मात्रै खर्च भएको छ। रानी जमरा कुलरिया सिँचाई आयोजना प्रमुख भरत कडेलले भने कोल्ड स्टोर निर्माण गर्न नसक्दा वित्तिय प्रगती कम देखिएको बताए।