सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको १८ नम्बर वडामा पनि मापदण्ड विपरितका क्वारेन्टिनले जोखिम

२०७७ जेठ २९, ०२:१५ रोशन भट्ट

धनगढी : धनगढी उप–महानगरपालिका वडा नम्बर १८ को फुलबारीमा पनि मापदण्ड विपरित स्थापना गरिएका क्वारेन्टिनले कोरोना संक्रमणको जोखिमलाई बढाएको छ। अन्य वडाहरु जस्तै वडा नम्बर १८ मा पनि नेपाल सरकारले निर्धारण गरेका मापदण्ड अनुसार क्वारेन्टिन स्थापना नगरिएको हो। कोरोना सन्त्रासका कारण रोजगारी गुमेपछि भारत तथा देशका अन्य भागहरुबाट घर फर्किएकाहरुलाई क्वारन्टिमा राखिएको छ। तर मापदण्ड विपरित स्थापना गरिएका क्वारेन्टिनले कोरोनाको जोखिमलाई झन बढाएको छ।

स्थानीय सरकारको तर्फबाट दुई÷तीन जनाको समूहलाई एक झुल बाहेक अन्य कुनै पनि सहयोग नमिलेको गुनासो उनीहरुको छ। ‘झुल बाहेक स्थानीय सरकारबाट कुनै पनि सहयोग मिलेको छैन्’ क्वारेन्टिनमा बस्दै आएका एक जनाले भने, ‘पटक–पटक आग्रह गर्दा पनि वेवास्ता भईरहेको छ।’ उप–महानगरपालिकाको वडा नम्बर १८ मा रहेका हरेक विद्यालयलाई क्वारेन्टिन स्थल बनाईएको छ। तर हात धुने साबुन, मास्क, पन्जा, सेनिटाईजर अभाव रहेको जनाएको छ। यस्तै कतिपय विद्यालय कोठा भित्र व्यक्ति, पंखा लगायतको पनि उचित व्यवस्था हुन सकेको छैन् भने पानी र सौैचालयको समेत समस्या भोग्नु परेको छ।

क्वारेन्टिनमा बस्ने महिलाहरुलाई भने नुहाउनका लागि झनै समस्या भईरहेको छ। नियमित स्वास्थ्य जाँच समेत हुन सकेको छैन् भने आरडिटी पोजेटिभ देखिएकाहरुको पीसीआर परीक्षणमा समेत वेवास्ता भईरहेको छ। समाजिक दुरी समेत कामय नहँुदा कोरोना संक्रमण फैलिने खतरा बढेको छ। क्वारेन्टिनमा समस्या समाधानका लागि धनगढी उप–महानगरपालिकालाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाई नभएको गुनासो गरिएको छ।

भारतबाट आएकाहरुलाई नाकाबाटै असुरक्षित रुपमा टिप्परमा लैजाने तथा विभिन्न स्थानबाट आएकाहरुले एकै क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता छ। तर व्यक्तिगत सुरक्षाका सामाग्री सहित स्वास्थ्य परीक्षणमा भने उप–महानगरपालिकाले उदासिनता देखाएको छ। तर वडा नम्बर १८ का वडा अध्यक्ष मुरारी अधिकारीले भने व्यवस्थापनमा समस्या भएपनि अहिले सामाधान भईसकेको दावी गरे। ‘नियमित स्वास्थ्य परीक्षणमा समस्या भईरहेको छ, उप–महानगरपालिकाले त्यसको व्यवस्था गर्नुपर्छ।’ उनले भने।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस