सबै व्यवस्थापन आफै गर्नुपरे स्थानीय सरकार भएको त मतलबै भएन नी !
धनगढी : डडेल्धुराको आलिताल गाउँपालिकाले सिमाबाट उद्धार गरिएका आफ्नै नागकिहरुलाई गाडी भाडा आफै तिर्नु भनेर सूचना निकाल्यो। गाउँपालिकाले जेठ ११ गते सवै वडा कार्यालयहरुलाई पत्राचार गरेर सिमाबाट उद्धार गरी क्वारेन्टाईनसम्मको गाडीभाडा र क्वारेन्टाईनभित्र आवश्यक पर्ने बेडविस्तरा, भाडावर्तनहरुको व्यवस्थापन समेत उद्धार गरिएका व्यक्तिहरुले गर्नुपर्ने भनेको छ।
गाउँपालिकाको कोराना रोकथाम तथा नियन्त्रण समितिको जेठ ९ गते बसेको बैठक अनुसार सो निर्णय भएकाले सम्पूर्ण नागरिकहरुले आफ्नो व्यवस्थापन आफै गर्न भनिएको प्रशासकिय अधिकृत ईन्द्रबहादुर रावलले बताए।
उता जिल्ला समन्वय अधिकारी करुणाकर अवस्थीले प्रदेश सरकारको कोरोना रोकथाम तथा नियन्त्रण गाईडलाईन अनुसार क्वारेन्टाइन निर्माण गर्नुपर्ने र क्वारेन्टाइन व्यवस्थापन तथा उद्धारका लागि स्थानीय तहलाई रकम दिएको बताएका छन्।
स्थानीयको विरोध
पत्रबारे अहिले आलिताल गाउँपालिकावासीले विरोध गरिरहेका छन्। गाउँपालिकाको वडा नम्बर १ गांखेतका स्थानीय युवा प्रकाश बोहराले उक्त निर्णय लाजमर्दो भएको बताए। ‘हामीले संघीयता सफल बनाउन, गाउँमा विकास ल्याउन भोट गर्यौं, रोजगारीको ग्यारेन्टी होस भन्ने अपेक्षा थियो’ उनले भने। आफ्नै नागरिकलाई आफ्नोपन नदेखाएको स्थानीय सरकारको मलतबै नभएको भन्दै उनले दुख प्रकट गरे। ‘एक त रोजगारी नपाएर हाम्रा दाजुभाई भारत गए, कोराना त्रासपछि रोजगारी गुमाएर सबै आउँदैछन, उल्टै स्थानीय सरकारले पराय जस्तो व्यवहार गर्ने ? स्थानीय सरकार के का लागि ?’ उनले प्रश्न गरे।
त्यस्तै अर्का स्थानीय नरेश बोहराले आलिताल गाउँपालिकाले लाजमर्दो सूचना प्रकाशन गरेर गरिब जनताका छोराछोरीलाई निराश पार्ने काम गरेको बताएका छन्। ‘व्यवस्थापन गर्न सक्दैनौ भने विदेशबाट आएका युवालाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गर्नुस तर यसरी गैरजिम्मेवार ढङगले सूचना न निकाल्नु होस’ उनले आक्रोस पोखे।
पत्र समाजिक सञ्जालमा भाइरल
गाउँपालिकाको यस्तोखाले पत्र समाजिक संजालमा समेत सार्वजनिक भएपछि अहिले त्यसको चौतर्फि बिरोध भइरहेको छ। पत्रबारे पत्रकार गणेश भट्ट फेसबुकमा लेख्छन, ‘स्थानीय सरकारको काम कमिसन र घुस खानु मात्रै हो ? बाँकी व्यवस्था त जनता स्वयंले गर्नुपर्ने रहेछ !’
त्यस्तै नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष मानबहादुर साउद लेख्छन, ‘धन्य हो आलिताल गाउँपालिकाका जनताहरु कस्ता जनप्रतिनिधी छनौट गरेका रहेछौं। आलिताल गाउँकार्यपालिका कोभिड –१९ को व्यवस्थापन समितिको बैठकको निर्णय देखेर आत्मगलानी मात्रै होईन मानवता नै हराएको हो की भन्ने महसुस भयो।’
यस्तै प्रेस यूनियनका पूर्व अध्यक्ष टेकराज अवस्थीले अविवेकपूर्ण सर्कुलर मानवता बिरोधी भएको बताएका छन्। ‘यस्तो निर्णय जनप्रतिनिधिका लागि पनि घातक हुनसक्छ, नागरिक समाज डडेल्धुराको ध्यानाकर्षण भएको छ’ नागरिक समाजका सदस्य सचिव समेत रहेका अवस्थीले फेसबुकमा लेखेका छन्।
यस्तो छ पत्र :