भारतमा धनगढीका एक युवकको मृत्यु, खाना नपाएर मृत्यु भएको आशंका
धनगढी : भारतमा खाना नपाएर धनगढीका एक युवकको मृत्यु भएको छ। दिल्ली आजातपुरमा रहेको ट्रान्सपोर्ट सेन्टरमा सवारी चालकको काम गर्दै आएका धनगढीका युवकको मृत्यु भएको हो। दिल्लीमा रहेका नेपालीहरुका अनुसार उनको नाम रवि हो। थर खुलेको छैन्।
६, ७ दिनदेखि भोकै रहेका उनी शुत्रवार पनि भोकी सुतेका थिए। बिहान उनी मृत फेला परेका हुन्। सुदूरपश्चिम समाज भारतका पदाधिकारीहरुले पनि सामाजिक सञ्चाल मार्फत खाना नपाएर उनको मृत्यु भएको जानकारी दिएका छन्।
दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर होम लुईटेलका अनुसार एक जनाको मृत्युको खवर आएको र प्रहरीले मुचुल्का उठाईरहेको छ। उनले मृत्युको कारण भने खुल्न नसकेको टेलिफोनमा दिनेश खवरलाई जानकारी दिए।
सुदूरपश्चिम समाज भारत र अन्य राज्य समितिहरुले कोरोना संक्रमणपछि जारी लकडाउनका कारण धेरै नेपाली रोजगारी गुमेर अलपत्र परेको भन्दै उद्धारका लागि माग गर्दै आएका छन्।