भगवान बनेर डडेल्धुरा पुगेका डा. केसी खल्ती रित्याएर बझाङतर्फ
धनगढी : डडेल्धुरा अस्पतालमा दुई महिना निशुल्क सेवा गरेर प्राध्यापक डाक्टर गाविन्द केसी बझाङ तर्फ लागेका छन्। गत फागुन २० गते गते निशुल्क रुपमा सेवा गर्न उनी डडेल्धुरा पुगेका थिए।
उनी डडेल्धुरा रहदा हाडजोर्नीसम्बन्धी समस्या भएका धेरै सुदूर पहाडवासीले विशेषज्ञ चिकित्सक सेवा पाएका थिए। केसीबाट सेवा लिन डडेल्धुरा लगायत, बैतडी, बझाङ, दार्चुला र डोटीका बिरामी आउने गरेको डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए।
अस्पताल प्रशासनका अनुसार डा केसीले डडेल्धुरा अस्पतालमा हुँदा २ हजारजती सामान्य केस र करिब ४ सयको हाराहारीमा अप्रेशन गरेका थिए। यद्यपी उनले कति बिरामी जाँचे भन्ने यकिन तथ्यांक नरहेको अस्पतालले जनाएको छ। अर्थोपेडीक वार्डमा अन्य चिकित्सक समेत भएको हुँदा डाक्टर गोविन्द केसीले मात्रै चेकजाँच गरेको तथ्यांक नरहेको सूचना अधिकारी पन्तले बताए।
लकडाउन अघिसम्म उनीसँग उपचार गराउन धेरैको भिड लाग्ने गरेको थियो। तर लकडाउनका कारण बिरामीको चाप भने केही कम भएको थियो। धेरैजसो बिरामीले उपचार गर्न आउँदा डाक्टर केसीलाई भगवानको संज्ञा दिने गरेको अस्पतालमा कार्यरत कर्मचारी रमेश भट्टले बताए।
‘हिजो मात्रै दुई महिने निशुल्क सेवा दिएर उहाँ बझाङतर्फ लाग्नुभयो, केही दिन उतै सेवा दिनुहुन्छ’ उनले भने। दिनमा एक छाक मात्रै खाना खाने गरेका डाक्टर केसीले अस्पतालबाट कुनै रकम नलिएको र उल्टै बिरामीका लागि औषधि समेत किनिदिने गरेको भट्टले सुनाए। ‘उहाँले ३५ सय पर्ने १५ जोडा बैशाखी किनेर अस्पताललाई दिनुभएको छ। भगवान बनेर आउँनुभएको थियो खल्ती नै रित्याएर जानुभयो’ उनले थपे। मिडियाबाट टाढै रहने डाक्टर केसीको अब डडेल्धुरा बाहेब अन्य पहाडी जिल्लामा घुम्ने योजना रहेको उनी नजिक भएका रमेश भट्टले बताए।
दिउँसो अस्पतालको कामबाहेक केही नबोल्ने उनी बेलाबेला आफ्ना सबै बिरामीको अपडेट लिने गर्थे। अस्पतालका कर्मचारीसँग नमस्ते बाहेक नबोल्ने र एकदमै शान्त स्वभावका उनले काम बाहेक अन्य केही कुरा नगरेको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए।
बेलाबेलामा मेडीकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडीकल कलेज खोल्न माग गर्दै आएका उनी १७औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए।
गत कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेको थिए। तर कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह कार्तिक २६ गते ९औं दिनमा स्थागित भएको थियो।
२६ वर्षदेखि त्रिवि शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवं विशेषज्ञका रुपमा कार्यरत चिकित्सिक केसीले उठाएका मागहरु आजसम्म सम्बोधन भएका छैनन्।
यो पनि पढ्नुस
संकटमा ‘पागल’ डाक्टर कहाँ छन् ?