कुवेतमा थप २२ जना नेपालीमा कोरोना, संक्रमितको संख्या ५१ पुग्यो
कुवेतमा थप २२ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। थप २२ जना गरी मंगलबारसम्ममा कुवेतमा जम्मा ५१ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको राजदुतावासले जनाएको छ।
कुवेतमा यसअघि २९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो। कुवेतमा झण्डै ७० हजार नेपाली कार्यरत छन्।
दुतावासका अनुसार मंगलबारसम्ममा कुवेतमा ३४ सय ४० जनामा कोरोना सङ्क्रमण भएको छ। जसमध्ये ११ सय ७६ जना उपचारपछि निको भएका छन् भने २२ सय ४१ जनाको अस्पतालमा उपचार भइरहेको छ।
खाडीका देश र मलेसियामा रहेका नेपाली दूतावासका अनुसार यी देशमा २०६ जना नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिएको छ। जसमध्ये १९७ जनाको अस्पतालमा उपचार भइरहेको छ। ७ जना निको भएर काममा फिरेका छन् भने यूएईमा कोरोनाका कारण दुई जनाको ज्यान गएको छ।
अहिलेसम्म बहराइनमा १२१, यूएईमा १२, साउदीमा ४, कुवेतमा ५१, कतारमा १५, मलेसियामा ३ जना गरी जम्मा २०६ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको हो। जसमध्ये साउदीमा तीन, यूएईमा दुई र मलेसियामा दुई गरी ७ जना निको भएर काममा फर्किएका छन्।