सुदूर नेपाललाई विश्वसँग जोड्दै

खाडीका नेपालीलाई फर्कन समस्या

। फोटो स्रोत ।
२०७६ चैत्र ६, ०८:१९ खबर संवाददाता

कतारबाट घर फर्कने तयारीमा रहेका काभ्रेका महेश्वर नेपालको टिकट निश्चित भइसकेको छैन। ६ वर्षदेखि कतार एयरवेजमा कार्यरत उनको बिहीबार करार अवधि सकिएको छ।

‘कम्पनीले अझै हिसाबकिताब फाइनल गरिसकेको छैन, मैले लिनुपर्ने हिसाबकिताब भोलि दिउँसोसम्म सकिएन भने स्वदेश फर्किने योजना तत्कालका लागि रोकिने सम्भावना बढ्यो,’ दोहास्थित आफ्नो कोठामा बसिरहेका नेपालीले टेलिफोनमा भने। सरकारले बिहीबार राति १२ बजेदेखि वैशाख ३ गते (अप्रिल १५) सम्म कोभिड–१९ को संक्रमण फैलिएका खाडी क्षेत्रका सहित सबै मुलुकबाट हुने आवतजावतमा प्रतिबन्ध लगाएको छ। वैदेशिक रोजगारीका लागि खाडी तथा मलेसियामा रहेका नेपाली कामदार शुक्रबार बिहानबाट नेपाल आउन पाउने छैनन।

बिदा वा करार अवधि समाप्त गरेर स्वदेश फर्कने तयारीमा रहेका नेपाली कामदार वैशाख ३ सम्म सम्बन्धित देशमै बस्नुपर्नेछ। ‘म बिदामा आउने तयारी गर्दै थिएँ, यो निर्णयले मेरो यात्रा रद्द हुने भयो,’ संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत स्याङ्जाका लक्ष्मण खनालले भने। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार सामान्य अवस्थामा दैनिकजसो ८ हजार यात्रु नेपाल आउने गरेका थिए । जसमा झन्डै ३५ सय नेपाली हुन्थे। विभिन्न देशमा कोरोनाको संक्रमण देखिन थालेपछि भने यो संख्या घटेको छ। गत फागुन १८ देखि चैत ४ सम्म ५० हजार ८ सय ७० नेपाली त्रिभुवन विमानस्थलको अध्यागमनबाट भित्रिएका छन। जसमा ११ हजार ९ जना महिला छन।

साउदी अरब, कुवेत, ओमानले उडान बन्द गरेपछि ती मुलुकबाट आउने नेपाली कामदार रोकिएका छन। कतार एयरवेजको उडान नियमित छ। बुधबार बेलुका ६ बजेसम्म १५ सय ४५ जना नेपाली स्वदेश फर्केका छन। जसमा ४ सय ९२ जना महिला छन। कतार, कुवेत, साउदी अरब, यूएई, ओमान, बहराइन र मलेसियाले भीडभाड रोक्न कडा कदम चालेका छन। यी देशमा कोरोना संक्रमण हुनेको संख्या हरेक दिनजसो बढिरहेको छ। कतारमा झन्डै ३ लाख ५१ हजार कार्यरत छन। कुवेतमा ७० हजार, साउदी अरबमा तीन लाख ५० हजार, यूएईमा दुई लाख ५० हजार, ओमानमा १५ हजार, बहराइनमा ३० हजार र मलेसियामा दुई लाख २५ हजार नेपाली रहेका छन।

मलेसियाले बुधबारदेखि लागू हुने गरी लकडाउन गरेको छ । अत्यावश्यक क्षेत्रबाहेकका ठाउँमा काम गर्नसमेत रोकिएको छ। ‘मलेसियाका सहरहरू सुनसान छन् । कर्फ्यु नै लागेको जस्तो छ। भेला हुन दिइएको छैन,’ क्वालालम्पुरमा कार्यरत वेदकुमार खतिवडाले भने, ‘ठूला कम्पनी बन्द छन। केही साना तथा मझौला कम्पनीमा भने बिदा दिइएको छैन। जसको कम्पनी र क्याम्प एकै ठाउँमा छन। उनीहरू भित्रै काम गरिरहेका छन।’ कान्तिपुरबाट।
 

कमेन्ट लोड गर्नुस