चीनको राजदूतमा पाण्डेलाई सिफारिस
सरकारले चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गरेको छ। अहिलेका राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेसँगै नयाँ राजदूतको रुपमा पाण्डेलाई सिफारिस गरिएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले पौडललाई फिर्ता हुन निर्देशन दिने र पाण्डेलाई सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ। २०७३ कात्तिकदेखि चीनका लागि राजदूत भएका पौडेललाई बालुवाटार जग्गा प्रकरणमा अदातले पत्र काटेकोले फिर्ता बोलाउन लागिएको स्रोतले जनाएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि राजदूतमा सिफारिस गरेको भए पनि सत्ता परिवर्तनपछि प्रचण्डले नेतृत्व सम्हालेपछि ओलीको उक्त निर्णय बदर गर्दै लिलामणीलाई पौडेललाई सिफारिस गरेको थियो।