सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘पृथ्वीपथलाई प्रतिबद्धता’ भन्दै अत्तरिया–धनगढी मोटरसाइकल र्‍याली हुने

२०८२ वैशाख २, ०७:४६ खबर संवाददाता

धनगढी : ‘पृथ्वीपथलाई प्रतिबद्धता’ भन्दै अत्तरिया–धनगढी मोटरसाइकल र्याली हुने भएको छ।

वैशाख ४ गते बिहिवार अत्तरिया चौराहमा रहेको राजा महेन्द्रको सालिकदेखि धनगढी चौराहमा रहेको पृथ्वीनारायण शाहको सालिकसम्म मोटरसाइकल र्‍यालीको आयोजना गरिएको हो।

धनगढीमा शान्तिपूर्ण बृहत् मोटरसाइकल र्‍याली तथा कोणसभा आयोजना गरिने छ। जनस्तरबाट कार्यक्रम गर्न लागेको दाबी गरिएको छ। कार्यक्रममा राजसंस्था पुनः स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक नेपाल ऋषि जगमान गुरुङ्गको सहभागिता रहने बताइएको छ। कोण सभामा राष्ट्रिय शक्ति नेपालका केसर बहादुर बिस्ट, संविधान सभा सदस्य गंगा चौधरी लगायतको पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। ‘नागरिक आन्दोलन सङ्घर्ष समिति’ले कार्यक्रमलाई राज्य व्यवस्थाको विरुद्ध ‘शान्तिपूर्ण अवज्ञा’को रूपमा आयोजना गर्ने बताएको छ।

नयाँ वर्षको अवसरमा ज्ञानेन्द्र शाहले सन्देश जारी गरेसँगै राष्ट्र पृथ्वीपथमा अग्रसर हुनुपर्ने धारणसहित अत्तरियादेखि धनगढीसम्म र्‍यालीको आयोजना गरिएको प्रतीक जोशीले बताए। पृथ्वीनारायण शाहको एकीकरणको अभियानलाई स्मरण गर्दै जोशीले भने, ‘बडामहाराजले पनि बिसे नगर्चीबाट प्रेरणा र सहयोग लिएर थालनी गर्नु भएको नेपाल एकीकरण अभियानबाट हामीले पनि प्रेरणा लिएर अब हतार नगरी सम्पूर्ण नेपालीले अघि बढ्नु पर्ने बेला भएको छ।’

कैलालीको अत्तरियामा रहेको राजा महेन्द्रको सालिकबाट बिहिवार दिउँसो साढे २ बजेदेखि र्‍याली सुरु हुने आयोजकले बताएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडक हुँदै धनगढी नगर परिक्रमा गरेर चौराह (पृथ्वीनारायण चोक)मा कोणसभाको आयोजना गरिने छ।

 

कमेन्ट लोड गर्नुस