चिसापानी–कुइने सडकका चार सय ७२ रुख कटान गर्न सम्झौता

धनगढी: कैलालीको चिसापानी–कुइने सडकका चार सय ७२ वटा रुख कटान गर्न सम्झौता भएको छ।
सङ्घीय वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभाग र सडक विभागको बिचमा मङ्गलवार सम्झौता भएको हो। सम्झौता पत्रमा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–३ र मोहन्याल गाउँपालिका–७ चिसापानी–मंगलसेन सडकको १६ किलोमिटर खण्डको स्तरोन्नतिका लागि वन ऐन, २०७६ को दफा ४२ को उपदफा (१) बमोजिम राष्ट्रिय वनको आठ दशमलव ९२ हेक्टर जग्गा प्रयोग गर्ने दिने भनिएको छ। सो जग्गामा रहेका विभिन्न जातका चार सय ७२ वटा रुख गोल हटाउन स्वीकृति दिने भनेर २०८० पुस २४ गते निर्णय भएको हुँदो वन ऐन, वन नियमावली अनुसार स्वीकृति दिइएकोसमेत सम्झौतामा भनिएको छ।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा सम्झौता भएको हो। सडकमा रहेका रुख कटानीको आदेश नभएकाले सात दशमलव २ किलोमिटर निर्माणको काम रोकिएको थियो। चिसापानी–कुइने सडकको सात दशमलव २ किलोमिटर खण्ड १२ करोड ८० लाख लागतमा कालोपत्रका लागि दिव्यज्योती–शाही जेभीसँग २०७९ साउन ३ गते ठेक्का सम्झौता गरेको थियो। सडक निर्माणको म्याद आउदो असारमा सकिदै छ। तर, रुख कटान आदेश नपाउदा हालसम्म काम अलपत्र अवस्थामा छ।


चिसापानी–कुइने सडक निर्माणको माग गर्दै स्थानीय नेत्र भण्डारीले अनसन थालेका थिए। भण्डारीले गत बुधवार कर्णाली पुलमा अनसन सुरु गरेकामा सोमवार तोडेका थिए। सुदूरपश्चिमका मुख्यमन्त्री शाहले रुख कटानीको सम्झौताको चरणमा रहेको भन्दै अनसन स्थगित गर्न आग्रह गरेका थिए।
