सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘हिंसा भड्काउने राजावादीका कमान्डरलाई प्रहरीले हतकडी लगाइसक्यो’

२०८१ चैत्र २९, ०७:०१ खबर संवाददाता

धनगढी : एमालेका महासचिव शंकर पोखरेलले हिंसा र आतङ्क सिर्जना गरेर मुलुकलाई भड्कालोमा जाख्न सकिन्छ भन्ने कुरा असम्भव भएको बताएका छन्।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले शुक्रवार धनगढीमा आयोजना गरेको विशेष सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले जनतालाई भड्काएर हिंसा र आतङ्क सिर्जना गरि देशलाई भड्कालोमा जाख्ने कुरा सम्भव नभएको बताएका हुन्।

उनले देशलाई पछाडि धकेल्ने गरि पूर्व राजाका नाममा भइरहेका गतिविधिको कुनै अर्थ नभएको पनि बताए। १५ चैतमा काठमाडौँको तीनकुुनेमा पूर्व राजाले जनकमान्डर बनाएर उत्पात मचाउने योजनाका योजनाकार दुर्गा प्रसाईंलाई पक्राउ गरेर प्रहरीले कानुनुको कठघरामा उभ्याउने प्रक्रिया थालेको बताउँदै हिंसात्मक गतिविधिको प्रतिकार गर्न आह्वान समेत गरेका छन्। ‘पूर्व राजाले कमान्डर बनाएर समाजमा आतङ्क सिर्जना गर्न उत्पात मच्चाउने, लुटपाट गर्ने र आगजनी गर्न योजना बनाउने योजनाकारलाई भारतमा लुकेको अवस्थामा प्रहरीले खोजी गरेर फिर्ता ल्याएको छ। हतकडी लगाएको छ,’ पोखरेलले भने, ‘कानुनको कठघरामा उभ्याउने प्रक्रिया सुरु भएको छ। जनतालाई भडकाएर हिंसा र आतङ्क सिर्जना गरेर भड्कालोमा जाख्न सकिन्छ ठानेको छ भने सम्भव छैन।’

मरिसकेको इतिहासलाई फर्काउने भन्दा पनि समस्या भएको ठाउँमा समाधान खोज्नुुपर्ने उनको भनाई थियो। अहिलेको प्रमुख समस्या राजनीतिक अस्थिरता र अराजकता भएको बताउँदै पोखरेलले त्यसैमाथि छलफल गरेर विजयी हासिल गर्नुपर्ने उल्लेख गरे। अहिले सामाजिक सञ्जालमा अराजकता फैलाउने काम भइरहेकाले इमानदारहरूले अगाडि आएर लोकतन्त्रको पक्षमा खबरदारी गर्नुपर्ने बताए।

लोकतन्त्र स्थापना भएपछि मुलुकमा थुप्रै विकास, निर्माण र परिवर्तन भएको बताउँदै उनले तथ्यमा रहेर बहस गर्न जरुरी भएको जनाए। शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, सडक पूर्वाधार तथा मानव विकासको लामै तथ्यांक प्रस्तुत गरेको पोखरेलले राजनीतिक स्थायित्व अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे।

विशेष सभालाई पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, सचिव लेखराज भट्ट, स्थायी कमिटी कर्णबहादुर थापा, पोलिटब्युरो सदस्य नादरमुनी राना, निरुदेवी पाल, शान्ता चौधरी लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

 

कमेन्ट लोड गर्नुस