सुदूर नेपाललाई विश्वसँग जोड्दै

उदयदेव प्रिमियर लिगः पाटन भ्याली विजयी

२०८१ चैत्र २९, ०६:१८ खबर संवाददाता

बैतडीः जिल्लाको पाटनमा सम्पन्न दोस्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक पाटन भ्याली क्रिकेट क्लबले जितेको छ।  

बिहीवार सम्पन्न फाइनल खेलमा बनारसी क्रिकेट क्लबमाथि छ विकेटको जित निकाल्दै भ्याली विजयी बनेको हो। योसँगै भ्याली लगातार दोस्रोपटक च्याम्पियन बनेको हो। च्याम्पियन बनेसँगै भ्यालीले एक लाख एक हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको बनारसीले ४५ हजार ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो। 

जितका लागि ७३ रनको लक्ष्य पाएको भ्यालीले आठ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा भेट्टायो। यसमा सन्दीप विष्टले सर्वाधिक २८ रनको योगदान गरे। यसअघि श्रीकृष्ण माविको खेलमैदानमा पहिला ब्याटिङ गरेको बनारसी १४ दशमलव तीन ओभरमा ७२ रनमा समेटियो । उसका कुनै पनि ‘ब्याटर’ले सम्झनालायक प्रदर्शन गर्न सकेनन्।

पाटन भ्याली क्रिकेट क्लबको आयोजनामा यही चैत २२ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो। खेलकुदलाई पर्यटनसँग जोड्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक पाटन भ्याली क्रिकेट क्लबले जनाएको छ।  

कमेन्ट लोड गर्नुस