सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दशरथचन्द नगरपालिकाले सञ्चालन गर्‍यो नगर बस सेवा

२०८१ चैत्र २५, ०६:३३ खबर संवाददाता

धनगढी: बैतडीको दशरथचन्द नगरपालिकाले नगर बस सेवा सञ्चालनमा ल्याएको छ। जिल्लाको मुस्या चौर बजारदेखि झुलाघाट सीमा नाकासम्म नगर बस सेवा सञ्चालन गरिएको हो।

दशरथचन्द नगरपालिकाको २९औँ स्थापना दिवसको अवसरमा आइतवार नगर बस सेवाको उद्घाटन गरिएको छ। तर, नगरपालिकाले कार्यविधि तयार नगरेकाले सब सञ्चालनमा आएको छैन। एक हप्ता भित्रमा कार्यविधि तयार हुने र नगर बसले पूर्ण सेवा दिने नगर प्रवक्ता अजवबहादुर पाण्डेले बताए। उनले भने, ‘नगर बस सञ्चालन गरेका छौ। स्थापना दिवसमा पूजा गरेका हौ। कार्यविधि निर्माण हुँदैछ। कार्यविधिमा स्टेशनहरू तोक्छौ। समय पनि निर्धारण हुन्छ। कार्यविधि अनुसार नै नगर बस सञ्चालन गर्ने हो।’

बैतडीमा पहिलो पटक नगर बस सेवा सञ्चालनमा ल्याएको नगरपालिकाले दाबी गरेको छ। नगरपालिकाले ३२ सिटको बस ४९ लाख रुपियाँमा खरिद गरेको हो। नगर बसमा सिसी टिभी क्यामरा, वाईफाई, पङ्खा र जिपिएस जडान गरिएको छ। दशरथचन्द नगरपालिका विस २०५४ साल चैत २४ गते स्थापना भएको हो। नगर प्रमुख पुष्करराज जोशीको नगर बस सेवा सञ्चालन गर्ने चुनावी घोषणापत्रमा उल्लेख छ। उनले चुनावी घोषणा अनुसार काम पूरा गरेको बताएका छन्।

नगर बस सञ्चालन हुँदा भारतबाट त्रिपुरासुन्दरी र निङलासैनी मन्दिरको दर्शन गर्न आउने धार्मिक पर्यटकलाईसमेत सहज हुने अपेक्षा नगरपालिकाको छ। भारतको पिथौरागडबाट बर्सेनि हजारौँ तीर्थालु नेपालका मठमन्दिरको दर्शनका लागि आउने गरेका छन्।

बैतडीमा दशरथचन्द नगरपालिकासहित चार नगरपालिका र छ वटा गाउँपालिका रहेका छन्। तर, दशरथचन्दले पहिलो पटक नगर बस सेवा सञ्चालन गरेको हो।

 

कमेन्ट लोड गर्नुस